काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नेतृत्व हस्तान्तरणको बढ्दो मागसँगै नेता जगत गौचनले आसन्न महाधिवेशनमा दोस्रो पुस्ताबाट अध्यक्षको उम्मेद्वार बन्ने चाहना सार्वजनिक गरेका छन् ।
‘तीन जना अध्यक्षहरू सहमति गर्नुहोस् नत्र दोस्रो पुस्ताको वरीष्ठ सदस्यको नाताले म अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गर्दछु । पार्टीलाई सही गन्तव्यमा लैजाने आँट, विश्वास छ, यसमा पार्टीका तमाम साथीहरूमा सहयोग, समर्थनको लागि अनुरोध गर्दछु,’ राप्रपाका निर्देशन समितिका सदस्य गौचनले सोमबार भने ।
राप्रपाका विशेष समिति, निर्देशन समिति, कार्यसम्पादन समिति, केन्द्रीय कार्य समितिका सदस्यहरू लगायत भातृ संगठनका पदाधिकारी समेतको उपस्थितिमा आयोजित महाधिवेशनकेन्द्रीत एक अन्तरक्रिया कार्यक्रममा गौचनले आफ्नो चाहना उद्घोष गरेका हुन् ।
अन्तरक्रियामा धारणा राख्ने अधिकांशले राप्रपाको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनु पर्ने बताएका थिए । राप्रपा बचाउने हो भने नेतृत्व पुस्तान्तरण अनिवार्य छ, नत्र पार्टी प्रजा परीषद्को बाटोमा जाने खतरा रहेको वक्ताहरूले बताए ।
पार्टीलाई एक ढिक्का राख्न दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सारेर, पहिलो पुस्ताको सम्मान र उचित व्यवस्थापन हुनु जरुरी भएको वक्ताहरूले बताए ।
पार्टी विधि र विधानको आधारमा नभएर, नेताहरूको व्यक्तिगत इच्छामा चलेको भन्दै, प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान जरुरी रहेको भन्दै सहभागी नेताहरूले चिन्ता प्रकट गरे ।
अन्तरक्रियाको क्रममा, पार्टी एकीकरण भएको ढेड वर्ष बितिसक्दा पनि जिल्ला समितिहरू समायोजन नहुनु, बागमती र सात नं प्रदेशहरूले नेतृत्व प्राप्त नगर्नुले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा शंका व्यक्त गरिएको थियो । यस्तो अवस्थामा स्थानीय तहको निर्वाचनमा कसरी सफलता हात लाग्छ भन्ने प्रश्न उठेको थियो ।
विधान, सिद्धान्त, संगठन र मतदान प्रक्रियाका साथै विगतका गल्ती कमजोरी र भावी अवसरहरू मध्यनजर गर्दै महाधिवेशनको क्रममा खुला र गहन बहस हुनु पर्ने धारणा व्यक्त गरिएको थियो ।
सहभागी नेताहरूले अध्यक्ष पदका आकांक्षी गौचनलगायत सबैलाई आ–आफ्नो कार्यक्रम सार्वजनिक गर्दै देश दौडाहामा निस्कन सुझाव दिएका थिए ।
राप्रपाका लोकप्रिय नेता धवलशम्शेर राणाले यस अघि नै अध्यक्ष पदका लागि उम्मेद्वारी सार्वजनिक गरीसकेका छन् ।