बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु - अध्यक्ष दाहाल — OSNepal

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु – अध्यक्ष दाहाल

Kesh Karki (USA) August 08, 2021 0

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलले बाढीपहिरामा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारका बारेमा जानकारी गराएको थियो । सो अवसरमा अध्यक्ष दाहालले आफू र आफ्नो पार्टीकातर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधिमण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

पूर्वप्रधानन्त्रीसमेत रहनुभएका उहाँले मेलम्ची र हेलम्बुका बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउने विश्वास पनि दिलाउनुभएको नेकपा(माओवादी केन्द्र)का नेता सुवोध सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “देशमा बढेको प्राकृतिक प्रकोपको सम्बन्ध विश्वव्यापीरुपमा विकासको मोडलमा खोज्नुपर्ने भएको छ । हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ ।” उहाँले भन्नुभयो, “हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुरा विश्वका फोरममा पनि उठाउन जरुरी छ ।” उहाँले प्रतिनिधिमण्डलले उठाएका विषयमा आफूले सरकारसँग स्पष्ट कुरा गर्ने जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर