काठमाडौँ २४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढीपीडितलाई राहत दिन नसकेकोप्रति टिप्पणी गरेका छन् ।
आज आफ्नै निवास खुमलटारमा बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले गठवन्धन सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा ढिलाई गरेकोप्रति आलोचना गरेका हुन् ।
‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ‘ ? प्रचण्डले अघि भने, ‘भन्दा अझै पनि ती गतिविधिहरु तीव्रताका साथ अगाडि बढेका छैनन् । त्यसैकारण तपाईंहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्छ ।’
यस कामका लागि आफ्नो पार्टीको नेता कार्यकर्तालाई समेत आग्रह गरिएको बताएका छन् । यसको लागि आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत रहेको बताएका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि बताएका छन् ।