तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको छ' :अध्यक्ष दाहाल — OSNepal

तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको छ’ :अध्यक्ष दाहाल

LC (KTM) April 29, 2025 0

अत्तरिया(कैलाली), १६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताउनुभएको छ । अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो,“अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ । उत्पीडित वर्ग समुदायका समस्या उहाँहरूकै बीचमा रहेर सुन्दा नयाँ उत्साह, आशा र भरोसा बढेको पाएका छौँ ।”

उहाँले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यही सम्बन्धलाई सुदृढ बनाउन जागरण अभियान सुरु गरिएको बताउनुभयो । अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु विगतमा पार्टीको कमजोरी भएका र यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष निकालेपछि जागरण अभियान सुरु गरेका हौँ ।”

जनताको त्याग र बलिदानीबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले फेरि षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न जनताको तागत आवश्यक हुने बताउनुभयो ।

गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बुधबार कञ्चनपुरमा समापन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर