गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी — OSNepal

गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी

LC (KTM) April 29, 2025 0

गण्डकी, १६ वैशाखः गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका विभिन्न विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल जारी छ । प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दश वटा विधेयक विषयगत समितिमा हाल दफावार छलफलका क्रममा रहेका छन् । अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आजदेखि औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल सुरु भएको जानकारी दिनुभयो । “आजको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री सचिव, विषयगत समितिका सदस्यहरूले विधेयकमाथि धारणा राख्नुभएको छ”, उहाँले भन्नुभयो, “आगामी २१ गते बस्ने समितिको अर्को बैठकमा सरोकार भएका पक्षहरूसँग उक्त विधेयकबारे छलफल गर्छौं ।”

सभापति अर्यालका अनुसार अर्थ तथा विकास समितिमा खानी तथा खनिज, घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयक पनि दफावार छलफलका क्रममा रहेको छ । समितिमा रहेका विधेयकमाथि निरन्तर छलफल हुने उहाँले बताउनुभयो ।

सामाजिक विकास तथा कृषि समितिमा छ वटा विधेयक छलफलका लागि आएको समितिका सचिव शशीधर सुवेदीले जानकारी दिनुभयो । आज गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था बनेको विधेयकमाथि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र समितिका सदस्यहरूबीच छलफल भएको उहाँले बताउनुभयो । बुधबारको बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ ।
सोमबार बसेको उक्त समितिको बैठकमा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयकमाथि विज्ञसहितले सुझाव दिएका थिए ।

समितिका सचिव सुवेदीका अनुसार सामाजिक विकास तथा कृषि समितिमा विद्युत् विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवा, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनेसम्बन्धी र दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक छलफलका क्रममा छ ।

समितिमा दफावार छलफपछि विधेयकलाई प्रतिवेदनसहित प्रदेशसभा बैठकमा पेस गरिने सचिव सुवेदीले बताउनुभयो । विषयगत समिति र प्रदेशसभा बैठकमा छलफल भएपछि कानुन निर्माणको प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विधेयक अधिवेशनका रूपमा लिइने प्रदेशसभाको हिउँदे अधिवेशनबाट दश वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा लगिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर