काठमाडौं – नेपाल चलचित्र संघको ५० औं (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ वैशाख १३ गते ललितपुरस्थित रोयल ट्युलिप होटलमा भव्यताका साथ सम्पन्न भयो।
संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजित बास्कोटा र कृष्ण मल्ल, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा, वरिष्ठ अभिनेता हरिवंश आचार्य, वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी र रेखा थापा लगायतको उपस्थिति रहेको थियो।
समारोहमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, नेपाल चलचित्र निर्माता संघका कार्यवाहक अध्यक्ष उदय सुब्बा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, आदिवासी जनजाति चलचित्र महासंघका पूर्व अध्यक्ष अमृत सुनुवारसहित चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक, लेखक, वितरक र प्रदर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, सम्बर्धन, संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने निम्न महानुभावहरूलाई सम्मान गरिएको थियो:
१) राज बहादुर शाह – प्रबन्ध निर्देशक, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीज
२) स्व. भुवनेश्वर अमात्य (मरणोपरान्त) – संस्थापक अध्यक्ष, नेचसं
३) निर्मल प्रधान – पूर्व महासचिव, नेपाल चलचित्र संघ
४) राजेन्द्र शाक्य – पूर्व कोषाध्यक्ष, नेपाल चलचित्र संघ
५) केदारनाथ पराजुली – पूर्व कार्यसमिति सदस्य, नेपाल चलचित्र संघ
६) कुबेर शर्मा – पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
७) रामजी श्रेष्ठ – पूर्व उपमहासचिव, नेपाल चलचित्र संघ
८) मोहन सराफ – पूर्व उपाध्यक्ष, नेपाल चलचित्र संघ
९) किसन राठी – प्रदर्शक
१०) उत्तम द्वा – पूर्व कार्यसमिति सदस्य, नेपाल चलचित्र संघ
११) ध्रुव कुमार श्रेष्ठ – पूर्व कार्यसमिति सदस्य, नेपाल चलचित्र संघ
त्यस्तै, संघका कर्मचारी होतराज शर्मा र विक्रम राईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो। कार्यक्रमका मुख्य प्रायोजक वरुण बेभरेज, हिमालयन एभरेष्ट इन्सुरेन्स, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीज, खल्ती एप, होटल रोयल ट्युलिप र बीवाईडी लगायतका संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम तयारी समितिका संयोजक गोपाल काजी कायस्थ, सदस्य कपिल द्वा, प्रज्वल शम्सेर जवरा, दीपर्ष शाक्य र ओम जैशी लगायत पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो।
त्यसैगरी, २०८२ वैशाख १४ गते नेपाल चलचित्र संघको सभाकक्षमा सम्पन्न ५० औं वार्षिक साधारण सभामा महासचिव सुरेन्द्र कुमार थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष प्रज्वल शम्सेर जवराको प्रतिवेदन पारित गरिएको छ। सभाले आगामी तीन महिनाभित्र विधान अधिवेशन आह्वान गर्ने निर्णय समेत गरेको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।