शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनुहुँदैन — OSNepal

शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनुहुँदैन

Kesh Karki (USA) April 28, 2025 0

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रूपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरूको गुनासो छ। शिक्षालाई राजनीतिमा मिसावट गर्नु नै गलत हो। शिक्षा त ज्ञानको ज्योति हो। शिक्षाले व्यक्ति र समाजलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ।

अप्सरा गौतम

शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन। शिक्षा र राजनीति एक रथका दुई पाङ्ग्राका रूपमा मान्न पनि सकिंदैन। दुवैमा आकाश पातालको फरक छ। झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ। त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपूरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ। शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ। जसको परिणामस्वरूप कुनै पनि देश र समाजमा परिवर्तन आउन सक्छ। राजनीतिमा पनि अमूल्य र गतिशील परिवर्तन आउन सक्छ। शिक्षाले व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति सञ्चालन हुने गर्छ।

त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ। शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन् तर शिक्षाविनाको राजनीति अर्थहीन हुन्छ किनकि विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता पर्छ। बौद्धिक समाज शिक्षाविना कल्पना गर्न सकिंदैन।

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रूपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरूको गुनासो छ। शिक्षालाई राजनीतिमा मिसावट गर्नु नै गलत हो। शिक्षा त ज्ञानको ज्योति हो। शिक्षाले व्यक्ति र समाजलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ।

राजनीति त्यो हो जुन देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनु पर्छ। राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक तथा सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो। तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरूमा बढ्दै गइरहेको छ। राजनीति गर्नेहरूले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ। आजभोलि राजनीति भन्ने वित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेका छन्। अहिलेको अवस्था हेर्ने हो भने गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालयनै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ। यो सरासर गलत हो। सरकारी र निजी छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालियो। सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सिर्जना गर्ने शिक्षित वर्ग नै देखिएको छ।

पछिल्लो समय शिक्षक शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्ने जस्ता आपराधिक घटनाहरू भइरहेका छन्। जुन विद्यार्थी राजनीतिको विकृतिको पराकाष्ठा समेत बनेको छ। देशको प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य, जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्न प्रेरित गर्ने खालको शिक्षा आजको आवश्यकता हो।

समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो। नेपालको सन्दर्भमा राजनीति भनेको हड्ताल, नाराबाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने पाइन्छ। राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरिएको पाइन्छ, जुन गलत हो। राजनीति भनेको आफैँमा एक विज्ञान हो। हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्‍यौं भने यसको महत्व बुझ्नेछौं। साँच्चै भन्ने हो भने राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ।

जब राणा शासन काल थियो, त्यतिबेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो। विभिन्न कालखण्डदेखि अहिलेसम्मको शिक्षा क्षेत्रमा भएको विकासका कारण नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ। बिस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिक व्यवस्थामा पनि परिवर्तन आइरहेको छ। पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो। राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो। तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन्।

अब विकास गर्नका लागि राजनीतिक मूल्य मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ। साथै मानिसहरूलाई राजनीतिको नकारात्मक पक्ष मात्र होइन, सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ। विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने आजको समस्या हो। शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ। व्यवहारिक र नियमित आचारसंहिताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ। राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनु पर्ला भन्नेबारे सोच्न जरुरी छ। जहाँबाट शिक्षामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न आवश्यक छ। शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिष्कार समेत गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ। राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ। राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अहम योगदान रहन्छ। शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अति आवश्यक छ। सबैको कार्य दक्षताको मूल्याङ्कन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धि स्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा प्रतिस्पर्धा गर्नु पर्छ। अब शिक्षाको नाममा आतंक फैलाएर शिक्षामा ह्रास आउने गतिविधिको अन्त्य जरुरी छ। परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरुरी देखिन्छ। संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रविन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर