काठमाडौँ, १४ वैशाख ः नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ किलोमुनि तौल समूहमा र हृदयणीले महिला २९ किलोमुनि तौल समूहतर्फ स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिनुभयो ।
जापानको ओसाकामा यही वैशाख १२ गतेदेखि आजसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप एक रजत र दुई कास्य पदकसमेत जितेको छ । महिला ३४ किलोमुनि तौल समूहमा जोलिना बस्नेतले रजत जितिन् । त्यस्तै एकल पुम्सेतर्फ पुरुष १४ वर्षमुनि तौल समूहमा आश्रय उपाध्याय तथा १२ वर्षमुनि तौलमा सक्षम श्रेष्ठले कास्य हात पारे ।
प्रतियोगितामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले यसै प्रतियोगिताको २०औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।