संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सांसदको माग — OSNepal

संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सांसदको माग

LC (KTM) April 27, 2025 0

काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाको बैठकमा सांसद डा बेदुराम भूसालले संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद डा भूसालले विद्यालय संविधानअनुसार बन्नुपर्ने कानुन बन्न नसक्दा धेरै कामकारबाहीमा कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“शिक्षकहरु ऐन जारी गर्न माग गर्दै सडक आन्दोलनमा गरेको २६ दिन भयो, सरकारले शिक्षकको मागप्रति गम्भीतापूर्वक ध्यान दिएको देखिदैन,” सांसद भूसालले भन्नुभयो, “शिक्षकको माग सरकारले सुन्नुपर्छ, सहकारीपीडित, मिटरब्याजीपीडित पनि आन्दोलनमै छन्, सरकारले महसुस हुने गरी माग सम्बोधन गर्नुपर्छ ।”

सांसद मृगेन्द्रकुमार सिंह यादवले सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक ऐन तत्काल बनाउन जरुरी भएको र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै कानुन चाहियो भनेर कोही पनि व्यक्ति वा संस्था सडक आन्दोलनमा आउनुपर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभयो ।

सांसद शेखरकुमार सिंहले धनुषामा तीन÷चार वर्षदेखि खेतबारी बाँझै भएको उल्लेख गर्दै पानी नभएका कारण खेतीयोग्य जमिनमा उत्पादन गर्न नसकिएको बताउनुभयो । उहाँले तत्तकाल सिँचाइको व्यवस्थासमेत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले विद्यालय ऐन जारी गर्न माग गर्दै शिक्षक लामो समयदेखि सडक आन्दोलनमा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आर्थिक भारपर्ने भएपनि शिक्षकको माग सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै शिक्षाजस्तो क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर