गलकोट नगरपालिकाको भवन निर्माणमा ढिलाइ — OSNepal

गलकोट नगरपालिकाको भवन निर्माणमा ढिलाइ

LC (KTM) April 27, 2025 0

ढोरपाटन (बागलुङ), १४ वैशाख : गलकोट नगरपालिकाको भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्र काम भएको हो । भवन निर्माणका लागि निर्माण कम्पनी काठमाडौँले २०८१ साल मङ्सिर २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७९ असार १४ गते सम्झौता भएको थियो ।

निर्माण कम्पनीले समयावधिभित्र काम नसकेपछि कार्यापालिकाको बैठकले गत माघमा एक वर्ष म्याद थप गरेको थियो । म्याद थप गरेको महिनौँ बितिसक्दा पनि निर्माण कम्पनीले कामको गतिलाई बढाउन सकेको छैन । छतले भवनको हालसम्म पाँच तलामात्र ढलान भएको गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले जानकारी दिनुभयो । भवन रु १२ करोड ४१ लाख ५५ हजार लागतमा बन्न थालेको इन्जिनियर दाहालको भनाइ छ ।

नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक रु दुई लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । गलकोट नगरपालिका–६ चरौँदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको छ ।

भाडाको घरबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । लामो समयसम्म निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नगरपालिकाले बर्सेनि लाखौँ रकम घर भाडामा खर्चनुपरेको सुनाउनुभयो । अहिलेसम्म आधा काम पनि नहुँदा म्याद थप गरेको समयभित्र सम्पन्न हुने सम्भावना कम भएको भण्डारी बताउनुहुन्छ । आफूहरूले बारम्बार ठेकेदारलाई काम गर्न आग्रह गरे पनि बेवास्ता गरेको उहाँको भनाइ छ ।

“यो भवन एक वर्ष अगाडि नै सकिनुपथ्र्यो, विभिन्न समस्या होला भनेर नगरपालिकाले केही समय म्याद थप गरिदियो, तर अहिले पनि निर्माण कम्पनीले उदासिनता देखाएको छ”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, अरुको घर भाडामा लिएर काम गर्दा समस्या भएको छ, एउटा घरमा सबै शाखा राख्न सकिँदैन, धेरै घरमा राख्दा सेवाग्राहीलाई पनि समस्या भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर