माओवादीले ४१ सूत्रीय माग राखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझायो। माग सम्बोधनका निम्ति माओवादीले ३५ दिनको अल्टिमेटम दिएको थियो। पहिलोपटक प्रधानमन्त्री बनेका देउवाले माग पूरा नगरेपछि माओवादीले २०५२ फागुन १ गते हतियार उठायो।
माओवादीको पहिलो निशाना थिए, सुरक्षाकर्मी। त्यसपछि क्रमशः शिक्षक, पत्रकार, व्यापारी, राजनीतिक दलका कार्यकर्ता अनि सर्वसाधारण माओवादीको निशानामा परे। शिक्षक र पत्रकारहरुलाई एकदमै पीडादायी रुपमा मारियो। स्कुलमा पढाइरहेका शिक्षकलाई लगेर आफैं खाल्डो खन्न लगाएर मारिएको थियो।
कसैलाई झुण्ड्याएर, कसैलाई किला रोपेर, कुटपिट गरेर, गोली हानेरलगायत विभिन्न यातना दिएर मारियो। माओवादीले कसैलाई छोडेन। कोराभित्र बसेको र भर्खर बच्चा पाएका सुत्केरीको पनि हत्या गरियो। माओवादीको १० वर्षे जनयुद्धको क्रममा १७ हजार जनता शहीद भएका छन्।
हजारौं अंगभंग भए। जनधनको व्यापक क्षति भएपछि सात राजनीतिक दलले माओवादीलाई सहमतिमा ल्यायो। १२ बुँदे माग सम्बोधन गरेपछि बल्ल माओवादीले आफ्नो हतियार छोडेको थियो। जसमा मुलुकबाट राजतन्त्र हटाउने, पहिलो संविधान सभाको निर्वाचन गर्ने लगायतका सम्झौता भयो।
२०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो। २०६५ जेठ १५ गते देशबाट राजतन्त्र हटेको र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको भनी सदनबाट घोषणा भयो। बहुमतले राजतन्त्र फ्याँकेर गणतन्त्रको स्थापना गरियो। राजा ज्ञानेन्द्र त्यही रात दरबार छोडेर नागार्जुनको जंगल लागे।
उनले श्रीपेच र गद्दी त्यागे। पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले १२० क्षेत्रमा चुनाव जितेको थियो। माओवादी त्यतिबेलाको पहिलो पार्टी हो। विडम्बना, माओवादीले न संविधान बनाउन सक्यो न देश र जनताको लागि काम गर्न सक्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्षमता त्यतिबेलै देखिएको थियो।
उनले आर्मीका चिफ रुक्माङ्गद कटवाल र पशुपतिनाथ मन्दिरको बाबालाई हटाउन खोजेका थिए। तर, दुवैलाई हटाउन असफल भएपछि उनले राजीनामा दिए। २०७० सालको चुनावमा माओवादी पहिलोबाट झरेर तेस्रो पार्टी बन्यो। जनताले नपत्याएपछि तर्सिएको माओवादीले २०७४ को चुनावमा एमालेसँग मिल्यो।
२०७९ को चुनावमा माओवादी र काँग्रेसबीच तालमेल भयो। माओवादीबाट प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने। काँग्रेसको सरकार होस् या एमालेको, माओवादी सरकारमा गएकै छ। तर, माओवादीले कुनै परिवर्तन ल्याउन सकेन। जनयुद्धमा जुन एजेण्डा बोकेर माओवादी हिँडेको थियो, त्यो बिर्सियो।
कसरी खाने? कसरी सम्पत्ति जोड्ने? कसरी मोजमस्ती गर्ने? कसरी आफ्ना आफन्तलाई जागिर लगाउने? यसमै केन्द्रित भयो माओवादी। माथिल्लो तहका नेताबाट तल्लो तहका कार्यकर्तासम्मको विचार नै त्यही भयो। उनीहरु व्यक्तिगत स्वार्थमा लागे। काँग्रेस र एमालेले खायो, हामी किन नखाने? भनी माओवादीले जनयुद्ध गरेको देखियो।
हिजो जनयुद्धमै मारेका पत्रकार, सुरक्षाकर्मी, व्यापारी, सर्वसाधारण अहिले माओवादीलाई आवश्यकता परेको छ। प्रचण्डको अघिपछि सुरक्षाकर्मी छन्। पत्रकारहरुले उनको राम्रो समाचार लेखिदिनुपरेको छ। शिक्षकलाई उचालेर माओवादीले सडकमा ल्याएको छ। शिक्षकको संख्या घटेपछि माओवादीका कार्यकर्ता सडकमा उत्रिएका छन्।
अहिले शिक्षकलाई उचालेर सरकार ढाल्ने अनि आफू सत्तामा जाने दाउमा छन्, प्रचण्ड। उनले शिक्षक र पत्रकारलाई आफू पुनः सरकारमा जाने भर्याङ बनाएका छन्। कुनै समय शिक्षक र पत्रकार देख्न नसहने प्रचण्डलाई अहिले उनीहरु नै सबैभन्दा बढी खाँचो परेको छ। तर, शिक्षकले आफ्ना साथीलाई मारेको, यातना दिएको बिर्सिएका छन्।
प्रचण्ड आफ्नो दाउ खेलिरहेका छन्, न शिक्षकले बुझेका छन् न पत्रकारले। अहिले उनी शिक्षकको पक्षमा आवाज उठाइरहेका छन्। माग सम्बोधन नभएसम्म विद्यालय नफर्किन उनले उक्साइरहेका छन्। हो, माओवादीका कारण देशमा लोकतन्त्र र गणतन्त्र आयो। त्यही व्यवस्थाका कारण आन्दोलन गर्न पाइएको हो।
शिक्षकहरु चैत २० गतेदेखि सडक आन्दोलनमा छन्। विद्यालय ठप्प छ। सडकमा शिक्षकहरु आन्दोलन गर्छन्, त्यही बीचमा साना बालबालिका पानी बेचिरहेका देखिन्छन्। पढ्न जानुपर्ने बालबालिका गुजारा गर्नका लागि पानी बेच्न हिँड्नुपर्ने बाध्यता छ। अनि लोकतन्त्र गणतन्त्र कसको लागि आएको रहेछ? प्रष्ट भइहाल्यो।
शिक्षकहरुलाई मोज छ। पढाइ नपढाइ जनताले तिरेको कर खाइरहेका छन्। लुगा लगाएका छन्। अझै सेवासुविधा पुगेन भनेर सडकमा आउँछन्। त्यसो त कर तिर्ने जनताको छोराछोरीको हकमा के? जनता आधा पेट काटेर कर तिर्ने अनि देशका बौद्धिक वर्ग भनिनेहरुले सेवासुविधा पुगेन भनेर सडकमा आएर रमिता देखाउने।
पत्रकार समाजका ऐना हुन्। शिक्षक आन्दोलनमा पत्रकारहरु यत्तिकै छन्। त्यही भीडमा साना बालबालिकाहरु पानी बेचिरहेका हुन्छन्। तर, त्यसको समाचार बनाउँदैनन्। पढाउन जानुपर्ने शिक्षक सडकमा रत्यौली खेल्छन्, पढ्न जानुपर्ने विद्यार्थी पानी बेच्छन्। शिक्षकहरु आन्दोलन गर्ने, विद्यार्थी पानी बेच्ने भन्दै समाचार बनाउनुपर्दैन?
स्कुल जान वञ्चित बालबालिकाको आवाज उठाउनुपर्दैन? आन्दोलनका कारण सर्वसाधारणले अनाहकमा सास्ती पाएका छन्। गाडी नचल्दा पैदल हिँड्नुपर्ने बाध्यता उनीहरुलाई छ। तर, पत्रकार समस्या उजागर गर्नुभन्दा पनि भ्युज बटुल्नमै बढी केन्द्रित छन्।
अस्ति आन्दोलनमा शिक्षकको संख्या निकै कम भइसकेको थियो। हिजो संख्या बढेको छ। तर, अधिकांशले शिक्षकको पोशाक पहिरिएका थिएनन्। साधारण पोशाकमा थिए। आन्दोलनमा वृद्धवृद्धा पनि थिए। त्यसले नै आन्दोलनमा घुसपैठ भइसकेको प्रष्टै छ। कसैको उक्साहटमा आएर आन्दोलन गर्नु बेकार छ।
पार्टीको झोला बोकेर आन्दोलनमा उत्रिँदा त्यसले ठूलो क्षति पुग्न सक्छ। अभिभावकको आक्रोश खेप्न उनीहरुलाई गाह्रो पर्न सक्छ। हिजो शिक्षक मारेर प्रधानमन्त्री भएका व्यक्ति पुनः शिक्षकलाई प्रयोग गरेर पदमा पुग्ने दाउमा छन्। यो कुरा शिक्षकले बुझ्न जरुरी छ। प्रचण्ड आएपनि शिक्षकको माग सम्बोधन गर्न गाह्रो छ।
प्रचण्डले आफ्नो गोजीबाट ल्याएर बढेको तलबभत्ता बाँड्ने होइनन्। राज्यको ढुकुटीबाट दिने हो। कर उठेपछि सरकारले दिइहाल्छ। अहिले देश आर्थिक संकटमा छ। कर उठेको छैन। वैदेशिक ऋण २७ खर्ब पुगिसकेको छ। जनताले भोको बसेर, उपचार नगरेर सरकारलाई कर तिरिरहेका छन्।
निर्माण व्यवसायी, दूध तथा उखु किसान, बीमा गरेका अस्पतालले भुक्तानी पाएका छैनन्। शिक्षकले यो कुरा बुझ्नुपर्छ कि पर्दैन? जे भए पनि शिक्षकले तलब त पाइरहेका छन्। यस्तो जटिल अवस्था शिक्षकले बुझ्ने कि सडकमा आएर रमिता देखाउने? ढ्याङ्ग्रो ठोकेर छन् शिक्षकले।
यसले त स्पष्ट रूपमा शिक्षक धाँमीझाक्रीको पक्षमा देखिएको छ। सडकमा जादू देखाउँछन्। अनि यस्ता शिक्षकलाई बौद्धिक वर्ग भन्ने? सरकारले अब शिक्षकको सर्टिफिकेट जाँच्नुपर्ने भएको छ। जानेको बुझेको मान्छेले ढ्याङ्ग्रो ठोक्छन्? बाटो जाम गरेर सर्वसाधारणलाई दुःख दिएका छन्।
कुन काम सही र कुन गलत भन्ने थाहा नभएका शिक्षकबाट के अपेक्षा गर्ने? यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता हुन्छन्? प्रचण्डले आफ्नो सन्तानदेखि आफन्तलाई ठाउँमा पुर्याइहाले। बाँकी भएकालाई अर्को पटक ठाउँमा पुर्याउँछु भन्ने उनको दाउ हो। आफ्नो छोराछोरीलाई ठाउँमा पुर्याइसकेकाले जनताको छोराछोरीको के मतलब?
शिक्षामन्त्री रघुजी पन्तले नाटक देखाइरहेका शिक्षकहरुलाई कारबाही गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई तत्काल बर्खास्त गर्नुपर्छ।
– अनुसा थापा
भक्तपुर