पोखरा महानगरका विभिन्न क्षेत्रमा स्वच्छ पिउनेपानी उपलब्धताका लागि त्रिपक्षीय समझदारीमा लागत साझेदारी आयोजना सञ्चालन — OSNepal

पोखरा महानगरका विभिन्न क्षेत्रमा स्वच्छ पिउनेपानी उपलब्धताका लागि त्रिपक्षीय समझदारीमा लागत साझेदारी आयोजना सञ्चालन

Kesh Karki (USA) April 27, 2025 0

पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तर्गत वृहद भरतपोखरी, निर्मलपोखरी, कृष्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तर्गत काँहुधरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नगर प्रमुख धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु. आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको छ।

वृहद भरतपोखरी, निर्मलपोखरी, कृष्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु. २८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा पुगेको छ। यस्तै काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँमध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँमध्ये २८ करोड ४९ लाख ९१ हजार ८२८ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ। समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.व.मा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ। तीन वटै परियोजनाको कुल लागत १ अरब ५२ करोड ७२ लाख ७० हजार ७ रुपैयाँ लाग्ने अनुमान गरिएको छ। परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ।

वृहद भरतपोखरी, निर्मलपोखरी, कृष्ति खानेपानी आयोजना अन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ कि.मी. सिमलेस पाइपमार्फत ३५ कि.मी. पाइपमार्फत उपभोक्ताहरूको घरघरमा पानी पुर्याइने छ। यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताउनुभयो। यस आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटर क्षमताका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुनेछन्। यस्तै काँहुधरहरा खानेपानी आयोजना अन्तर्गत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ कि.मी. पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ। करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तर्गत ३ सय घन मिटरको एक र १ सय घन मिटरका २ वटा ट्याङ्कीहरू निर्माण गरिनेछ। मट्टीखान खानेपानी योजना अन्तर्गत सेतिखोलाबाट शम्पवेलमार्फत पानी पम्पिङ गरी फेदिखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिनेछ। ३५ कि.मी. पानीको पाइपलाइन विस्तार हुनेछ। विभिन्न स्थानमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीहरू मार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फागुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ। आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताउनुभयो। नगर क्षेत्रमा संघ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो। “पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेगहरू छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकेका बेला पछिल्लो पटक निकै ठुलो मिहिनेतका साथ हामी यी आयोजनाहरू सञ्चालन गर्ने क्रममा आइपुगेका छौँ,” उहाँले भन्नुभयो। “ठुला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनु पर्दछ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धता सहित अग्रसरता लिएका छौँ।” उहाँका अनुसार जी टु जी अवधारणामा उपभोक्ताहरूको तर्फबाट बेहोर्नु पर्ने १० प्रतिशत जनसहभागिता बापतको रकम महानगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा पठाइदिने छ।

पानीको महसुल बुझाउन समेत मुस्किल पर्ने उपभोक्ताहरूलाई जनसहभागिता बापतको रकम महानगरपालिकाले तिरिदिने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन्। यसले आफूहरूलाई योजना सञ्चालनमा ठुलो राहत मिलेको अनुभूति भएको उनीहरूको भनाइ रहेको छ। “पोखरा महानगरपालिकाले असल अभिभावकत्वको आभास दिलाएको छ,” वृहद भरतपोखरी, निर्मलपोखरी, कृष्ति खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले भन्नुभयो। “महानगरले जनताको दुखमा सारथिको काम गरेको छ।” यी आयोजना समयमा सम्पन्न गर्न उपभोक्ताहरूको तर्फबाट सबै प्रकारको सहयोग र समन्वय गर्ने उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर