काठमाडौँ । मातृ औंशीको अवसरमा एभरेस्ट भक्तपुर स्कुलले जेकेजी कक्षाका विद्यार्थीहरूका आमाहरूको उपस्थितिमा भव्य र सभ्य कार्यक्रम आयोजना गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा नानी र आमाबीचको सम्बन्ध अझ प्रगाढ बनाउने मुख्य उद्देश्य रहेको स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले बताउनुभयो।
कार्यक्रममा बोल्दै अमात्यले आमाहरू केवल माया र ममताका खानी मात्र नभई आफ्ना सन्तानलाई असल संस्कार सिकाउने पहिलो गुरु भएको उल्लेख गर्नुभयो। उहाँले नानीहरूको आफ्नै क्षमता र तागत पहिचान गर्न आग्रह गर्दै, “आफ्ना सन्तानलाई कसैसँग तुलना नगरी आत्मनिर्भर बन्ने वातावरण सिर्जना गरौं, उमेर र शारीरिक सामर्थ्य अनुसार आफ्नो काम आफैं गर्ने बानी बसालौं,” भन्ने सुझाव दिनुभयो। साथै, मोबाइल र टिभीको प्रयोगमा उचित समयसीमा तोक्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
कार्यक्रममा उपस्थित आमाहरूले यस्तो संस्कारयुक्त आयोजनाले सन्तान र आमाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र आमाहरूमा आफ्ना दायित्वप्रति थप चेतना ल्याउने विश्वास व्यक्त गरे।
विद्यार्थीहरूले आफ्ना आमाप्रति स्नेह र सम्मान प्रकट गर्दै गीत, संगीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरे, जसले कार्यक्रमको आकर्षण थप बढाएको थियो।
कार्यक्रमको अन्त्यमा एभरेस्ट इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आगन्तुक आमाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।