स्कटल्याण्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ का लागि आवेदन खुला — OSNepal

स्कटल्याण्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ का लागि आवेदन खुला

Kesh Karki (USA) April 26, 2025 0

काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ का लागि आवेदन खुला गरिएको छ। नेपालतर्फ आयोजक चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक विज्ञप्ति जारी गर्दै महोत्सवमा सहभागी हुन चलचित्र पठाउन आह्वान गरेको हो। नेपाल आयोजकमा नेपाल चलचित्र निर्देशक समाजसमेत रहेको छ।

महोत्सव आउँदो १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिनबरा (Edinburgh) मा आयोजना हुने भएको छ। गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रममार्फत महोत्सवको औपचारिक घोषणा गरिएको थियो। महोत्सव ‘नेपाल स्कटल्याण्ड एशोसियसन’ (NSA) को आयोजनामा हुन लागेको हो भने संयोजक विजय डंगोल रहेका छन्।

महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत र फिल्म कल्चर सोसाइटी अफ नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन्।

महोत्सवमा आदिवासी जनजाति विषयमा आधारित छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीकाहरूका चलचित्रहरू सहभागी गराउन सकिनेछ। साथै, आदिवासी कथामा आधारित मुख्यधारका कथानक चलचित्रहरूलाई समेत अवार्ड तथा सम्मान प्रदान गरिने महोत्सव निर्देशक अरुण कुमार प्रधानले जानकारी दिएका छन्।

‘हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकारलाई अवार्ड र सम्मान’ भन्ने नारासहित महोत्सवमा जातीय खाना उत्सव, जातीय पहिरन प्रदर्शनी, चलचित्र प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, सम्मान समारोह, सांस्कृतिक प्रस्तुति र अवार्ड वितरण कार्यक्रमसमेत आयोजना गरिनेछ।

“पहिलो पटक एडिनबरामा हुन लागेको यो महोत्सवले आदिवासी जनजाति चलचित्र क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,” आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष तथा महोत्सव संयोजक विजय डंगोलले बताएका छन्।

महोत्सव स्कटल्याण्डमा आयोजना हुने विश्वप्रसिद्ध ‘एडिनबरा महोत्सव’ कै अवसर पारेर सम्पन्न गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर