हङकङमा ‘एभरेष्ट म्युजिक नाइट’, राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मान — OSNepal

हङकङमा ‘एभरेष्ट म्युजिक नाइट’, राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मान

Kesh Karki (USA) April 26, 2025 0

हङकङ – वान चाइस्थित क्वीन एलिजावेथ स्टेडियम हलमा आयोजित ‘एभरेष्ट म्युजिक नाइट २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति तथा मिस नेपाल हङकङ र एभरेष्ट ग्रुपको संयुक्त आयोजनामा सम्पन्न यो साँगीतिक साँझले हङकङमा रहेका नेपाली समुदायलाई एकै थलोमा जुटाउँदै विशेष मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा चर्चित गायक एकदेब लिम्बु तथा उनको ब्यान्ड, लोकदोहोरी गायक बिमल राज क्षेत्री र गायिका शान्तारानी परियारले आफ्ना सजीव प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। त्यस्तै, लोकप्रिय नृत्य समूह ‘कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माले दमदार प्रस्तुति दिँदै माहोलमा थप ऊर्जा भरेका थिए। मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई अझ विविधता प्रदान गरेको थियो भने मकेडियन भरतमणि पौडेलले आफ्नो विशेष प्रस्तुति मार्फत थप रोचकता थपेका थिए।

साँझको विशेष आकर्षणको रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी होनहार खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो। नेपाल महावाणिज्य दूतावास, हङकङका कार्यबाहक प्रमुख कन्सुलर सतिस गुरुङ, मिस नेपाल हङकङका लोक आङबुहाङ लिम्बु र दिपेन लिम्बु तथा एभरेष्ट ग्रुपका महासचिव एवं कार्यक्रम निर्देशक मनिष कार्कीले उनलाई सम्मान गरेका थिए।

कार्यक्रम निर्देशक कार्कीले कार्यक्रमले प्रवासी नेपालीबीचको एकता, सांस्कृतिक पहिचान र नेपाली गीतसंगीतप्रतिको सम्मानलाई अझ सशक्त बनाएको बताए। दर्शकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी वर्ष २०२६ अप्रिल १८ मा सोही स्थानमा अझ भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी गराए।

साँगीतिक साँझको सञ्चालन पूर्व मिस नेपाल तथा चर्चित अभिनेत्री मलिना जोशीले गरेकी थिइन्। उनले आफ्नो आकर्षक र पेशेवर शैलीमा सम्पूर्ण कार्यक्रमलाई जीवन्त बनाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर