पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन — OSNepal

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

LC (KTM) April 25, 2025 0

भैरहवा (रूपन्देही), १२ वैशाख : भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ ।

भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरेपनि कमै हुने बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताउनुभयो । मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपुसैनिकका अध्यक्ष रेशम केसीले आतङ्ककवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाउनुभयो ।

शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए । शोकसभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर