काठमाडौं – गीतकार दीपेन्द्र अधिकारीको शब्द रचना रहेको नयाँ गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक गरिएको छ। अञ्जु पन्त र दुर्गा पराजुलीको सुमधुर स्वरमा सजिएको यस गीतमा दुर्गा पराजुलीकै संगीत, राजु कार्कीको म्युजिक एरेञ्ज र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ।
भिडियोतर्फ, निर्देशक एवम् सम्पादक वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा तयार पारिएको भिडियोलाई वर्ल्डकभर मिडियाको पोस्ट प्रोडक्सनमा निर्माण गरिएको हो। गीतको भिडियोमा कलाकार रमेश चन्द सोडारी र मिशेल घिमेरे फिचरिङ छन्। भिडियोमा उच्च हिमाली क्षेत्रका चौंरी गोठालाहरूको प्रेमकथा मनमोहक रूपमा प्रस्तुत गरिएको छ।
निर्देशक भाटका अनुसार, रसुवाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गतको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड आसपासका रमणीय स्थलहरूमा दुई दिन लगाएर भिडियो छायांकन गरिएको हो। छायांकन महेश महराले गरेका हुन्।
गीत सार्वजनिक भएपछि गीतकार दीपेन्द्र अधिकारीले “शब्दले भावनाअनुरूप जीवन पाएको” प्रतिक्रिया दिनुभएको छ। जापानलाई आफ्नो कर्मथलो बनाउँदै अधिकारी लामो समयदेखि नेपाली गीत, संगीत र साहित्यमा सक्रिय रहँदै आएका छन्। उहाँका ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’ जस्ता चर्चित गीतहरूले नेपाली श्रोतामाझ विशेष स्थान बनाइसकेका छन्।
यसैबीच, आगामी जेठ ९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहा’ मा पनि रमेश चन्द र मिशेल घिमेरे फरक तर प्रभावशाली भूमिकामा देखिनेछन्, यद्यपि यो गीतमा उनीहरू प्रेमी जोडीको रूपमा प्रस्तुत छन्।
गीतले संगीतप्रेमी श्रोता तथा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउँदैछ।