काठमाडौं – गायक हसन राई र ‘द भ्वाइस अफ नेपाल सिजन ६’ की चर्चित प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘पैसाकी बैस’ सार्वजनिक भएको छ। उक्त गीत लुङ्टो क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा ‘द भ्वाइस अफ नेपाल’ कै अर्का प्रतिस्पर्धी तथा गायक-संगीतकार रोशन राईले शब्द तथा संगीत भरेका छन्। सागर सन्सार राईको एरेञ्ज र किश्वर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा ग्रामिण प्रेम र रोमान्सलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडियोमा रियल जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ। उनीहरूले नै निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका छन्। भिडियोमा गाउँले जीवनशैली र प्रेमका पाटोलाई विशेष ढंगले प्रस्तुत गरिएको छ।
धरानका गायक हसन राईले हालसम्म करिब दुई दर्जन गीत रेकर्ड गरिसकेका छन्। साथै, उनले आधा दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोमा मोडेलका रूपमा पनि अभिनय गरेका छन्। सुरसाझ कलाकेन्द्र र अलंकार म्युजिक एकेडेमीमा विनोद प्रियदर्शीसँग संगीत सिकेका हसन पाश्र्व गायनमा समेत सक्रिय छन्।
‘पैसाकी बैस’ गीतले ग्रामीण परिवेशमा प्रेम र संघर्षको मिठो कथालाई संगीतमार्फत उजागर गर्ने प्रयास गरेको छ।