‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक, सौगात मल्ल र गीताञ्जली थापाको अभिनयमा ग्रामीण जीवन झल्किने भिडियो — OSNepal

‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक, सौगात मल्ल र गीताञ्जली थापाको अभिनयमा ग्रामीण जीवन झल्किने भिडियो

Kesh Karki (USA) April 25, 2025 0

काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘जार’को नयाँ गीत ‘ए ठूली’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतलाई निर्माण पक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको हो।

गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने शब्द हर्क साउदले लेखेका हुन्। संगीत झुमा लिम्बू स्वयंले तयार पारेकी छन्। प्रेमिल भावनामा आधारित गीतले प्रेमको मीठो पर्खाइ, सम्झना, र कल्पनालाई जीवन्त रुपमा प्रस्तुत गरेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापा लगायत फिचर छन्। भिडियोले गाउँको पारिवारिक परिवेश, प्रेम, पर्खाइ, र लाहुरेप्रेमको कथालाई चित्रण गरेको छ।

‘जार’ चलचित्र सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित ऐतिहासिक कथा हो। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्रलाई निर्देशक फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

फेरि टेल पिक्चर्सको निर्माणमा बनेको चलचित्रलाई सामाजिक कथामा आधारित भए पनि कम्प्लिट प्याकेज रहेको निर्देशक लामाको दाबी छ। चलचित्र वैशाख २६ गतेदेखि नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत कलाकारको अभिनय रहेको छ। छायांकन सिक्किममा गरिएको चलचित्रको कार्यकारी निर्माता त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्।

चलचित्रको छायांकन सरवानन इलावार्सुले, सम्पादन अखिलेश राईले, र संगीत झुमा लिम्बू तथा गंगा थापाले गरेका छन्। नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमा मार्फत हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर