काठमाडौं – बहुप्रतिक्षित नेपाली चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माणपक्षले बिहीबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति भदौ १२ गते तय गरेको जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तलाई विशेष भावनात्मक मुद्रामा प्रस्तुत गरिएको छ। नवविवाहित स्त्रीको रूपमा देखिएकी सुरक्षालाई पहाडी घरको आँगनमा उभिएको देखिन्छ, जुन दृश्यले उनले केही समय पहिले छोडेर गएको घरमा पुनः फर्किएको संकेत दिन्छ।
निर्देशक सरोज पौडेलका अनुसार फर्स्ट लुक पोस्टरले चलचित्रको कथामा संकेत गरे तापनि पूर्ण कथा भने अन्य सामग्रीमार्फत क्रमशः खुलासा गरिनेछ। सरोज पौडेलको अघिल्लो निर्देशन ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसमा झण्डै ४७ करोड ५० लाख ग्रसकलेक्सन गरेकाले ‘कोशेढुङ्गा’प्रति दर्शकको चासो उच्च छ।
महिलाप्रधान यो चलचित्रमा सुरक्षा पन्तसँगै आर्यन सिक्देल, नीति शाह, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, प्रविण खतिवडा, लोकमणी सापकोटा, हिउँवाला गौतम, सविता रेग्मी लगायत चर्चित कलाकारको अभिनय रहेको छ।
नरदेवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा आषिश अविरल र रिदम कँडेलको संगीत रहेको छ।
निर्माण टिमका अनुसार ‘कोशेढुङ्गा’ नेपालसँगै विश्वका विभिन्न देशमा एकैसाथ प्रदर्शनमा ल्याइने छ।