काठमाडौँ, ११ वैशाखः युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो ।
उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताउनुभयो ।
सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो ।
केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उहाँले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिनुभयो ।
लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ भन्नुभयो ।
पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिनुभयो ।