वालिङ – स्याङ्जाको वालिङ नगरपालिकामा महिलाहरूको व्यवहार परिवर्तन, सकारात्मक सोच विकास र उद्यमशीलता प्रवर्द्धनका लागि ‘हेफर आधारशिला’ तालिम सम्पन्न गरिएको छ।
कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएको चक्रदेवी स्वावलम्बी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ सदस्यलाई तीन दिने तालिम प्रदान गरिएको हो। तालिम वालिङ नगरपालिका वडा नं. २ मा आयोजना गरिएको थियो।
तालिमको समापन समारोहमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशील बनाउन माटोअनुसारको खेतीलाई प्राथमिकता दिनुपर्ने बताउँदै, सकारात्मक सोच र निरन्तर प्रयासले सफलता प्राप्त हुने उल्लेख गरे। उहाँले व्यवहार परिवर्तन, मेलमिलाप र सहकार्य अहिलेको आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो।
नगर प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महिलाहरूको सहभागिता विकास निर्माण तथा सामाजिक कार्यमा उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी गराउनुभयो। दीगो उत्पादन र बजारीकरणका लागि नगरपालिका क्रियाशील रहेको पनि उहाँले बताए।
वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले तालिम महिलाको पहुँच विस्तार र सामाजिक परिवर्तनमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
तालिममा सामुदायिक सहजकर्ता सुस्मिता पौड्याल, विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजीकरण गरेका थिए।
हाल वालिङ नगरपालिकाको वडा नं. १ देखि ७ सम्म सञ्चालनमा रहेको परियोजनामा ५६ वटा समूहमार्फत १,६०० महिला आवद्ध छन्। आयोजनाले महिलालाई सामाजिक र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्य लिएको छ।