दोलखा, लादुक – बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर तामाकोशी पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीहरूलाई धम्क्याउने, थर्काउने तथा जायज मागलाई बेवास्ता गरेको भन्दै स्थानीयहरू आन्दोलित भएका छन्।
बिगु गाउँपालिका–१ स्थित गोंगर बजारका क्रसर पीडित स्थानीयहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजना पक्षले विभिन्न शक्तिको प्रयोग गरी उनीहरूलाई डर धम्की दिने र आफ्ना जायज मागलाई ‘नाजायज’ भन्दै अस्वीकार गर्न खोजेको गम्भीर आरोप लगाएका छन्।
स्थानीयहरूले आयोजनाबाट सञ्चालित क्रसर प्लान्टले वातावरण र स्वास्थ्यमा असर पुर्याएको, निजी आवासमा क्षति पुर्याएको, तर त्यसको समाधान र क्षतिपूर्ति नदिएको, रोजगारी नदिएको, नदीबाट सुरक्षाको लागि तटबन्ध नबनाएको, सडक ढलान र खानेपानीको व्यवस्था नगरेको गुनासो गरेका छन्।
यी मागहरूबारे आयोजनाले गत चैत २१ गते सहमति जनाउँदै एक हप्ताभित्र समाधान गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै कार्यान्वयन नभएको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन्। वैशाख ३ गतेदेखि क्रसर प्लान्टको सम्पूर्ण काम ठप्प पारिएको छ।
संघर्ष समितिका संयोजक डिल्ली बहादुर मगरले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। विज्ञप्तिमा आयोजनाले यस्ता क्रियाकलाप निरन्तर जारी राखे उत्पन्न हुने नकारात्मक परिणामको सम्पूर्ण जिम्मेवारी आयोजनामाथि नै पर्ने उल्लेख गरिएको छ।
स्थानीयको आक्रोश र असन्तोष बढ्दै जाँदा अबको दिनमा दोलखामा झनै असहज अवस्था सृजना हुन सक्ने संकेत देखिन थालेको छ।