काठमाडौं – गीतकार प्रमोद भट्टराई “प्रतीक”को शब्द, बबिना भट्टराईको स्वर र संगीतमा तयार भएको प्रेमभावमा आधारित गीत “कहीँ कतै हराएँ भने” को भिडियो सार्वजनिक गरिएको छ। गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यमा भिडियो लोकार्पण गरिएको हो।
गीतको कथा एकतर्फी प्रेममा आधारित छ, जहाँ नायकले नायिकाप्रति गहिरो माया राख्दछन् तर आफ्नो प्रेम प्रकट गर्न नसकी एक सन्देशमार्फत भावनाहरू प्रकट गर्छन्। तर नायिकाको नकारात्मक प्रतिउत्तरले नायक टाढा जान्छन्। यद्यपि, अन्त्यमा नायकले आफ्नो मनकी प्रेमिकाको सफलता देखेर मनमनै खुसी हुने भाव व्यक्त गरिएको छ।
गीतमा बबिना भट्टराईले गायन र अभिनय दुवै भूमिका निर्वाह गरेकी छिन् भने यशराज नायकको भूमिकामा छन्। भिडियो जीवन शाहीले निर्देशन गरेका हुन्। मेला रेकर्डिङ स्टुडियोमा तयार पारिएको भिडियो ‘प्रतिक क्रियशन’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, गीतकार संघ अध्यक्ष बसन्त बित्यासी लगायतको उपस्थितिमा गीतले गहिरो भाव, उत्कृष्ट प्रस्तुति र नयाँ प्रयोगमार्फत सबैको मन जित्ने अपेक्षा गरिएको छ।