रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप — OSNepal

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप

LC (KTM) April 23, 2025 0

काठमाडौँ, १० वैशाख : काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

चैत १५ गते भएको उक्त घटनामा उनीहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । पचासी जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकामा २१ जना हाजिरी जमानीमा छुटेकाले अहिले ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।

त्यसमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपाराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर