वालिङ, वैशाख १० – स्याङ्जाको वालिङ नगरपालिकामा आधुनिक खोर निर्माणका कार्यक्रमहरू सञ्चालन भएपछि बाख्रा पालक कृषकहरू उत्साहित बनेका छन्। नगरपालिकाले बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले उत्पादन वृद्धि तथा नस्ल सुधारलाई प्राथमिकता दिँदै आधुनिक खोर निर्माण र सुधारका कार्यक्रमहरू अघि बढाएको हो।
पहिले अस्तव्यस्त रूपमा बाख्रा पाल्दै आएका कृषकहरूले आधुनिक खोर निर्माणले सहज र स्वच्छ वातावरणमा पालन गर्न सकिने विश्वास गरेका छन्। वालिङ नगरपालिका–५ की एकमाया मल्लले अनुदानमा आधुनिक खोर निर्माण गरेकी हुन्। “अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो,” उनले बताइन्। हाल १२ वटा बाख्रा पाल्दै आएकी मल्लले अब खोर विस्तारसँगै बाख्राको संख्या पनि बढाउने बताइन्। मल्ल ‘दिप्का बाख्रापालन स्वावलम्बी महिला कृषक समूह’की अध्यक्ष हुन्।
३० जना महिला सदस्य रहेको समूहले उत्पादन वृद्धि अभियानमा सक्रिय रूपमा सहभागिता जनाइरहेको समूहकी सचिव मथुरा शाहीले जानकारी दिइन्।
वालिङ नगरपालिका–५ मा हालसम्म १० जना कृषकले आधुनिक खोर निर्माण गरिसकेको वडा अध्यक्ष छविलाल आलेले बताए। हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत ५० प्रतिशत अनुदानमा खोर निर्माण गरिएको हो।
नगरप्रमुख कृष्ण खाँणका अनुसार, बाख्राको नस्ल सुधार गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित वडा नं. १ देखि ७ सम्म विशेष योजना अनुसार कार्य भइरहेको छ। “साझेदार संस्थाहरूको सहकार्यमा महिलालाई उत्पादनमा जोड्ने अभियान सञ्चालन गरिएको छ,” प्रमुख खाँणले भने।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बाख्रापालनलाई व्यावसायिक बनाउँदै साना कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए। उनले निर्वाहमुखी कृषि प्रणालीलाई आर्थिक रूपमा लाभदायक स्वरूपमा परिणत गर्न आधुनिक खोर निर्माण गरिएको स्पष्ट पारे।
पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालका अनुसार वडा नं. ४, ५ र ६ मा हालसम्म २६ वटा आधुनिक बाख्राका खोर निर्माण गरिएको छ। आधुनिक खोर निर्माणसँगै कृषकहरूलाई सरसफाइ, खोर व्यवस्थापन, र बाख्रापालनसम्बन्धी व्यवहारिक तालिम पनि दिइएको जानकारी उनले दिए।