लिङ्देनको मौनता र असहयोगले राजसंस्थावादी आन्दोलन कमजोर? — OSNepal

लिङ्देनको मौनता र असहयोगले राजसंस्थावादी आन्दोलन कमजोर?

Kesh Karki (USA) April 23, 2025 0

युवराज राना

राजेन्द्र लिङ्देनज्यू !

तपाईं यसरी किन ठुस्कनु भयो ? गणतन्त्रविरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक भएर लड्नु पर्ने बेलामा तपाईंले ठुस्केर एक्लै लड्ने रहर गर्नु भएको देखिन्छ। तपाईंले राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिप्रति असहमति प्रकट गर्नु भयो भन्ने सुन्नमा आएको छ। आफ्नै पार्टीका महामन्त्री बन्दी अवस्थाबाट मुक्त भएर फर्किएको कार्यक्रममा पनि तपाईं उपस्थित हुनुभएन। किन यति धेरै एक्लै हिँड्ने रहर लागेको हो तपाईंलाई ?

राजनीतिमा एक्लै हिँड्नु सैद्धान्तिक रूपमा ठीक होला, तर व्यावहारिक रूपमा भने त्यति उपयुक्त मानिन्न। सिद्धान्त मिल्नेहरूसँग सहकार्य गर्दा शक्ति बलियो हुन्छ। सिद्धान्त नमिल्नेहरूसँग पनि तिनीहरूलाई “प्रयोग” गर्ने हिसाबले सहकार्य गर्नु गलत होइन।

– नेपालको राजनीतिमा एक्लै हिँड्ने रहर गर्ने पहिलो नेता डिल्लीरमण रेग्मी थिए। हुँदाहुँदा उनी यति एक्लो भए कि उनका छोराछोरीले समेत उनको दलमा बसेनन्।

– विश्वेश्वरप्रसाद कोइरालाले पनि राजाबाहेक अरूसँग सहकार्य गर्न नाक खुम्च्याउँथे। तर, उनलाई पनि २०१४ सालको भद्र अवज्ञा आन्दोलन गर्न अरूसँग मिल्नै पर्‍यो। उनका चेलाहरूले त कम्युनिस्टसँग मिलेर दुई-दुई पटक आन्दोलन गरेर सत्तामा पुग्न सके।

– कम्युनिस्टहरू पनि सुरुवाती दिनमा अरूसँग सहकार्य गर्दा जातै जान्छ जस्तो गर्थे। तर पछिल्लो चरणमा त उनीहरूजति सहकार्य गरेर बलियो बन्दै गएका अरू कोही भएनन्।

राजेन्द्र लिङ्देनज्यू !

तपाईं पनि एमाले, माओवादीसँग एक-डेढ महिना सरकारमा गएर आफ्नो राजनीतिक कौमार्य भंग गरेर फर्किन त सक्नुभयो। तर आफ्नै सगोत्री मित्र–बंधुहरूसँग भने सहकार्य गर्दिनु भन्नु अड्डी कसेर बस्नुभएको देख्दा सुहाएको छैन।

तपाईंले २०६४ सालमा टुँडिखेलमा भनिरहनु भएको थियो— “कांग्रेस र कम्युनिस्टले राजालाई बलजफ्ती नारायणहिटीबाट लखेटे। हामी राजालाई नागार्जुनबाट बोकेर ल्याएर एक दिन नारायणहिटीमै राख्नेछौं।” अहिले त्यस्तै मौका आएको छ। यस्तो ऐतिहासिक अवसरलाई खेर जान दिनुहुन्न।

तपाईंले राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिप्रति देखाउनुभएको असहयोग जनमानसले नियालेर हेरिरहेको छ। तपाईंको यस संकीर्णता र आत्मकेन्द्रित प्रवृत्तिले धेरैको चित्त दुखाएको छ। कतै यही असहयोग नै तपाईंको राजनीतिक पतनको कारण नबनोस्। आफ्नै अनुयायी र प्रशंसकहरूको चित्त दुखाएर कुन नेता टिक्न सकेको छ र यहाँ ? तपाईंको शक्ति र धरातल त राजाको आशिर्वाद र राजसंस्थावादीहरूको समर्थन नै हो। यही समूहले तपाईंलाई हाइलाइट गरेर राजनीतिक आकाशमा पुर्‍याएको हो। यदि यिनैको चित्त दुखाउनु भयो भने तपाईंको अस्तित्व पनि अन्ततः “पुनर्मूषिको भव” हुनसक्छ।

राजनीतिमा एक्लै केही गर्न सकिँदैन। संगठन नै शक्ति हो। “संघ शक्ति कलियुगे” भन्ने उक्ति सुन्नु भएकै होला !

– लेखक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर