पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलशसहित भव्य शोभायात्रा — OSNepal

पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलशसहित भव्य शोभायात्रा

Kesh Karki (USA) April 23, 2025 0

पोखरा – पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ।

मानव सेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ गतेदेखि औपचारिक रूपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञअन्तर्गतका विभिन्न प्रवचन एवं धार्मिक कार्यक्रमहरू भने जारी रहेका छन्। महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ।

महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्नका लागि वैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा गरिने कोटीहोम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए।

कलश यात्रा पोखराको शान्तिघाटबाट सुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्र बैंक चोक हुँदै कार्यक्रम स्थलमा पुग्नेछ। उक्त कलश यात्रामा ११ हजार कलश रहनेछन्।

कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिनेछ। यात्रामा प्रयोग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार ३ र दुईवटा कलश २ हजार ५ सयमा घरमा लैजान सकिने व्यवस्था गरिएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।

शोभा कलश यात्रामा समूह, भेषभूषा, अनुशासन, व्यानर आदि आधारमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मूल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए।

कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचकहरूबाट विशेष शास्त्रीय प्रवचन हुनेछन्। महायज्ञको मुख्य दिन वैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुद्वारा नियमित हवन तथा विविध पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले भजन, झाँकी, देवलीला, नृत्य आदि प्रस्तुति दिनेछन्। कार्यक्रम अवधिभर देश–विदेशबाट सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जानकारी दिइएको छ।

महायज्ञको प्रचारप्रसारका लागि वैशाख ११ गते साइकल र्‍याली राखिएको छ।

साइकल र्‍याली विरौटा कार्यक्रम स्थलबाट सुरु भई विरौटा चोक, ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरो किमी, मालेपाटन, विन्ध्यवासिनी, भैरवटोल, नालामुख, तेस्रापट्टी, महेन्द्रपुल, न्युरोड, पृथ्वीचोक, नागढुंगा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुँदै पुनः विरौटामा गएर समापन हुनेछ।

वैशाख १२ गते ट्याक्सी र्‍याली गरिनेछ। उक्त र्‍याली विरौटा चोक हुँदै ड्यामसाइड, राष्ट्र बैंक चोक, लेकसाइड, हल्लनचोक, जिरो किमी, मालेपाटन, हरिचोक, बगर, पिएन क्याम्पस, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवी, कुडहर, मियापाटन, १३२ किमी चोक, अमरसिंह चोक, विरेन्द्र चोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा चोक हुँदै कार्यक्रम स्थलमा समापन हुनेछ।

यसैगरी वैशाख १३ गते हुने मोटरसाइकल र्‍याली पनि ट्याक्सी र्‍यालीकै रूट अनुसार हुने आयोजकले जनाएको छ।

वैशाख १४ गते फेवातालमा डुंगा र्‍याली हुनेछ। उक्त र्‍याली स्वीमिङ पुल घाटबाट सुरु भई बाराही मन्दिर परिक्रमा गरेर बाराही घाटमा समापन हुनेछ।

वैशाख १५ गते बिहान पोखरामा बृहत् पैदल यात्रा हुने आयोजकले जनाएको छ। महायज्ञमा एक सय वटा हवनकुण्ड रहनेछन्।

पोखराको कोटीहोममा करिब ५० जिल्लाबाट स्वयंसेवकहरू सहभागी हुने मानव सेवा फाउण्डेशनले जनाएको छ।

कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा, श्रीमद् देवीभागवत कथा लगायतका दिव्य कथावाचन गरिनेछ। साथै विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन जस्ता कार्यक्रमहरू गरिनेछन्।

कोटीहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तिल, तेल, देवदारु, श्रीखण्ड आदि सामग्रीसहित उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्द्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञ आयोजना गरिएको हो।

महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन्। उनले वैशाख १८ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह–निर्देशक युवक लामिछानेले जानकारी दिए।

उक्त कथा वाचनको विशेष दिन मंगलबार पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भए। उनले पोखरा–१७, विरौटामा सञ्चालन भइरहेको महायज्ञको दर्शन नगर्ने व्यक्तिलाई साँचो पोखरेली मान्न नसकिने धारणा व्यक्त गरे।

महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्षलाई सफल बनाउने माध्यमका रूपमा कोटीहोम महायज्ञलाई महत्वपूर्ण भन्दै उनले यसको प्रचारप्रसार आवश्यक रहेको बताए। पछिल्लो समय भक्तजन र दातृ सहभागिता समेत उल्लेख्य रूपमा बढिरहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर