ओटेफको तीन दिने डिजिटल मार्केटिङ तालिम पोखरामा सुरु, ६० महिला पर्यटन व्यवसायी सहभागी — OSNepal

ओटेफको तीन दिने डिजिटल मार्केटिङ तालिम पोखरामा सुरु, ६० महिला पर्यटन व्यवसायी सहभागी

Kesh Karki (USA) April 23, 2025 0

पोखरा – महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली सम्बन्धी तालिम सुरु गरेको छ। महिला पर्यटन व्यवसायीहरूलाई लक्षित गरी आयोजित तालिम आजदेखि सुरु भएको हो।

ओटेफकी अध्यक्ष उमा रेग्मीका अनुसार तालिममा सहभागीहरूलाई डिजिटल प्रविधिको प्रयोग, व्यवसायिक कानुनी पक्ष, पर्यटन व्यवसायमा विद्यमान अवसरहरूलगायतका विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन्। पछिल्लो समय महिला पर्यटन व्यवसायीहरूको सहभागिता उल्लेख्य रूपमा वृद्धि भएकाले प्रविधि र बजारसँग सुसज्जित बनाउनु आवश्यक रहेको रेग्मीले बताइन्।

तालिम उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पर्यटकको पोखरामै बसाइ लम्ब्याउने उपायहरूमा ध्यान दिनुपर्नेमा जोड दिँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले पर्यटन क्षेत्रको बजारीकरणमा नवीनतम प्रविधिको प्रयोग अनिवार्य भइसकेको उल्लेख गरे।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थलसम्बन्धी विषयलाई लिएर समग्र पोखरालाई बदनाम गर्न नहुने धारणा राख्दै दोषीलाई मात्र कारबाही हुनुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल र होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

तालिममा पोखरासहित विभिन्न जिल्लाबाट आएका करिब ६० जना महिला पर्यटन व्यवसायीको सहभागिता रहेको जानकारी ओटेफकी महासचिव एवं कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर