काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा बस्ने नेपालीहरूको नागरिकता निरन्तरता सुनिश्चित गर्न राप्रपा प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले वर्तमान नागरिकता ऐन संशोधन गर्नु राप्रपाको पनि प्रमुख म्यान्डेट भएको बताएका हुन्।
“एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ,” अध्यक्ष लिङ्देनले भने, “उनीहरूलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले निरन्तर आवाज उठाउँदै आएका छौं।” उनले २०६३ सालपछिको राजनीतिक व्यवस्थाले ल्याएको नागरिकता ऐनले विदेशमा बस्ने नेपालीलाई अन्याय गरेको भन्दै अवसरको खोजीमा विदेशिएका नेपालीलाई गैरनेपाली ठहर गर्न नमिल्ने धारणा व्यक्त गरे।
अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता कानुन बने पनि कार्यान्वयन नहुँदा खरबौंको सम्पत्ति विदेशिने खतरा रहेको र नेपालमा लगानी भित्र्याउन कठिनाइ भएकोप्रति ध्यानाकर्षण गराए।
यस्तै, संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएमा देखिएको विवाद समाधानका लागि सबै राजनीतिक दलले विधानविपरीत गतिविधिमा संलग्न समूहलाई स्पष्ट सन्देश दिनुपर्नेमा जोड दिए। उनले उच्चस्तरीय समितिका नाममा भइरहेका गतिविधि असंवैधानिक रहेको र राजनीतिक दलले रोकथाममा भूमिका खेल्नुपर्ने बताए।
प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालसँग पनि भेट गरी गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा सहयोगको आग्रह गरेको थियो। सभापति अर्यालले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको पक्षमा आफ्नो पार्टीले सदनमा पटक–पटक आवाज उठाउँदै आएको स्मरण गराउँदै समर्थनको प्रतिबद्धता जनाए।
साथै, एनआरएनए विवादसम्बन्धी भ्रम चिर्ने प्रयासस्वरूप डा. हेमराज शर्माले कुनै एक असन्तुष्ट समूहले संस्थामा एकलौटी र अवैधानिक गतिविधि गरिरहेको जानकारी गराए। जवाफमा अर्यालले संस्थाभित्रको विवाद राजनीतिक दलले होइन, संस्थाले आन्तरिक रूपमा समाधान गर्नुपर्ने बताए।
भेटमा सहभागी सांसद हरि ढकालले विगतमा विदेशमा रहेका नेपालीहरूलाई राजनीतिक अधिकारसमेत दिने विषयमा बहस आवश्यक रहेको धारणा राखे।
उक्त दिन प्रतिनिधिमण्डलले उपसभामुख इन्दिरा रानासँग पनि भेट गरी नागरिकता कार्यान्वयन र संघभित्रको विवादबारे जानकारी गराएको थियो। उपसभामुख रानाले आफूपट्टिको तहबाट सक्दो पहल गर्ने आश्वासन दिइन्।
भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा र रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, स्वीडेनका निवर्तमान अध्यक्ष राजकुमार पाठक, कोलोराडो च्याप्टर अध्यक्ष आरसी पन्त, सल्लाहकार एकनारायण चापागाईं, सञ्चार अधिकृत डा. मीन रानाभाट तथा इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति थियो।