पोखरा – गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सांकेतिक भाषा तालिमलाई समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदमको रुपमा व्याख्या गरेका छन्। पोखरामा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिनाको आवासीय दोभाषे तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो तालिमले बहिरा समुदायलाई सशक्त बनाउने विश्वास व्यक्त गरे।
उनले भने, “सांकेतिक भाषा केवल संचारको माध्यम होइन, यो बहिरा समुदायको पहिचान, अधिकार र अभिव्यक्तिको आधार हो। यसले उनीहरूको सामाजिक सहभागिता सुनिश्चित गर्न र समावेशी समाज निर्माण गर्न सहयोग गर्दछ।” मन्त्री थापाले तालिमले दोभाषे र बहिरा समुदायबीचको समझदारी र आत्मीयतालाई थप मजबुत बनाउने बताए।
मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरूको हितमा प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै, १० प्रकारका अपाङ्गता सम्बन्धी संघसंस्थाहरूलाई प्रभावकारी कार्यान्वयनका लागि बजेट वितरण गरिने उल्लेख गरे। उनले अपाङ्गमैत्री कानून निर्माणको प्रक्रिया अघि बढिरहेको र विधेयक तयार पारिने जानकारी पनि दिए।
कार्यक्रममा गण्डकी प्रदेशकी सांसद तथा राष्ट्रिय बहिरा महासंघ गण्डकी प्रदेशकी अध्यक्ष सुनीता थापाले दोभाषे तालिम फलदायी हुने विश्वास व्यक्त गरिन्। उनले संघलाई प्रभावकारी बनाउन र सदनमार्फत अपाङ्गता भएका व्यक्तिको पक्षमा आवाज बुलन्द बनाउने प्रतिबद्धता जनाइन्।
पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम प्रभावकारी भएको बताए। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रशिक्षार्थी, संघीय र प्रदेशस्तरीय सरोकारवाला निकायका प्रतिनिधि तथा बहिरा संघसंस्थाका सदस्यहरूको उपस्थिति थियो।
तालिममा सहभागीहरूलाई सांकेतिक भाषा, बहिरा समुदायको सामाजिक–मनोसामाजिक आवश्यकताहरू, मानव अधिकार, समावेशी संचार र सहजीकरणका विविध पक्षहरूमा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।