पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पा यूएनडिपीका जलवायु अभियन्ता — OSNepal

पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पा यूएनडिपीका जलवायु अभियन्ता

LC (KTM) April 23, 2025 0

काठमाडौँ- संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी) ले दुई पर्वतारोहीलाई जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न जलवायु अभियन्ताका रुपमा मनोनित गरेको छ । यूएनडिपीले गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरेको कार्यक्रममा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रेञ्जी शेर्पालाई जलवायु अभियन्ताका रुपमा घोषणा गरिएको हो । श्रेष्ठले आठ हजार मिटरभन्दा अग्ला नेपालका सातवटा शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । नेपालका आठ हजारभन्दा अग्ला सातवटा हिमाल आरोहण गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।

यसैगरी शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँ जेनजी पुस्तासँगको सशक्त संवाद र सजिलैसँग जोडिनसकिने कथा प्रस्तुत गर्न सकिने क्षमताका लागि चिनिनुहुन्छ ।
यूएनडिपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा अभियन्ता घोषणा गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । यसले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरुको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने जनाइएको छ । यो अभियानको मुख्य उद्देश्य महिला र आदिवासीजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावलाई उजागर गर्नु हो ।

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका तीव्र प्रभाव परिरहेको छ । हिमनदी पग्लिनुदेखि पारिस्थितिक प्रणालीमा आएको अवरोधसम्मको सामना गरिरहेका छन् । सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको अध्ययनले नेपालमा दुई हजार ३२३ हिमताल भएको तथ्य सार्वजनिक गरेको थियो । तीमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ ।

विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका हिमाललाई भविष्यको पुस्ताका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेकामा पनि यूएनडिपीले ध्यानाकर्षण गराएको छ । नेपालका लागि यूएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले हिमाल र मानवजातिको संरक्षणका लागि सामूहिक कार्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

यो साझेदारीले यूएनडिपी नेपालद्वारा सञ्चालित जलवायु कार्यका प्रयासमा महत्वपूर्ण काम गरेको छ । जसमा अनुकूलन, जलवायु सहनशीलता र समावेशी नीति निर्माणमा समावेश छन् । सामाजिक सञ्जाल अभियानअन्तर्गत अभियानकर्मीले अनुभवमूलक कथा प्रस्तुति, देश विदेश भ्रमण, अन्तरक्रियात्मक अनलाइन सामग्रीमार्फत् जलवायु न्यायसम्बन्धी सार्वजनिक संवादलाई फराकिलो बनाउन संलग्न हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर