काठमाडौं – विदेशी रोजगारको सपना देखाई लाखौं रुपैयाँ ठगी गर्ने गिरोहको मुख्य आरोपी इर लुइटेललाई प्रहरीले पक्राउ गरेको छ।
हिमालयन एक्सप्लोरेशन जॉब्स एन्ड ट्राभल्स प्रा.लि. का सञ्चालक इर लुइटेलले भारत, मलेसिया, सिंगापुर हुँदै दुबई पुर्याइदिने आश्वासन दिएर चार जना व्यक्तिबाट जनही २ लाख ७० हजार रुपैयाँका दरले जम्मा १० लाख ८० हजार रुपैयाँ असुलेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।
प्राप्त उजुरीअनुसार लुइटेलले खानपान र बसोबासको खर्चसमेत समेटिएको भन्दै रकम लिएको तर सो बमोजिमको सेवा नदिई ठगी गरेको पाइएको छ। उक्त कार्य ठगी तथा मानव तस्करीको सङ्केत दिने देखिएको प्रहरीको भनाइ छ।
ओखलढुंगा जिल्ला, चपादेवी गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा बसोबास गर्दै आएका २७ वर्षीय लुइटेललाई २०७९ साल वैशाख ८ गते विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउपछिको अनुसन्धानमा उजुरीकर्ता गुनु लामाले पनि ६ लाख रुपैयाँ ठगी भएको दाबी गरेकी छिन्। यससँगै इर लुइटेल विरुद्ध बकसुर मुद्दा समेत दर्ता गरिएको छ। उनी यसअघि सिंहदरबार वृत्तबाट फरार रहेको खुलेको छ।
प्रहरीका अनुसार थप अनुसन्धान र कानुनी कारवाहीको लागि लुइटेललाई जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा पठाइएको छ।