भर्जिनिया (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो १८औं स्थापना दिवस भव्य रूपमा अमेरिकाको भर्जिनियामा मनाएको छ। सन् २००७ अप्रिल २१ र २२ मा आर्लिङ्टन, भर्जिनियामा पहिलो अधिवेशन सम्पन्न गरेपछि हरेक वर्ष अप्रिल २१ लाई स्थापना दिवसका रूपमा मनाउँदै आएको नेजाले, यो वर्ष २०२५ अप्रिल २० (शनिबार) १८औं वार्षिकोत्सव मनाएको हो।
कार्यक्रम नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा र वासिङ्टन डीसीस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उक्त कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा, मानार्थ सदस्य योगेश उपाध्यायलगायत वक्ताहरुले नेजाको स्थापना, भूमिका र योगदानबारे धारणा व्यक्त गरे।
संस्थापक अध्यक्ष पोखरेलले अमेरिका स्थित नेपाली पत्रकारलाई संगठित गर्ने र आपसी सहकार्यका लागि नेजा स्थापना गरिएको उल्लेख गर्दै प्रारम्भिक दिनमा भोगिएका चुनौतीहरूको स्मरण गरे।
दूतावास उपप्रमुख आरनले पत्रकारितामार्फत सूचना प्रवाहमा दूतावासको सहयोग र समन्वय निरन्तर रहने उल्लेख गर्दै नेजाको आगामी योजनामा सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमका क्रममा नेजा र एनआरएनए अमेरिकाबीच पत्रकारिता सम्मान र बहस कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर पनि गरियो। उक्त समझदारीको कार्यान्वयन प्रक्रिया अघि बढेको जानकारी नेजाका महासचिव बाबुराम दाहालले दिएका हुन्।
स्थापना दिवसको अवसरमा नेजाले नर्थ क्यारोलिनास्थित नेपाली समुदायद्वारा सञ्चालित ‘आरम्भ पुस्तकालय’लाई पत्रकारहरूले लेखेका १८ वटा पुस्तक सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
कार्यक्रममा सीटी अफ इन्डियानाका हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडरल क्रेडिट युनियनका सीईओ सुमन तिमल्सिना, एनआरएनए महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टर अध्यक्ष विशाल कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत मन्तव्य राखेका थिए भने डिसी मेट्रो संयोजक सिर्जना काफ्लेले धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथि, पत्रकार, समाजसेवी र नेजाका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।