काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण गरिएको नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। जेठ २ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको ‘आँखा’ बोलको गीत निर्माणपक्षले मंगलवार सार्वजनिक गरेको हो।
गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ। प्रेमभाव अभिव्यक्त गरिएको यस लिरिकल भिडियोमा चलचित्रका प्रमुख कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर भएका छन्। गीतमा प्रेमी–प्रेमिकाको आँखामा झल्किएको माया देखाइएको छ भने सिनेमाका केही झलकहरू पनि प्रस्तुत गरिएको छ।
बुद्धिसागरको लेखन रहेको यो चलचित्र सोसल ड्रामामा आधारित छ। ‘कर्णाली ब्लुज’, ‘एक्लो’, र ‘फिरफिरे’ जस्ता चर्चित उपन्यासमार्फत प्रसिद्ध लेखक बुद्धिसागरको यो पहिलो चलचित्र लेखन हो।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय रहेको छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने युवराज कार्की कार्यकारी निर्माता रहेका छन्।