काठमाडौं-नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र अबको कार्यभार बिषयक बिचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितीवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताउनुभएको हो ।
यथास्थितीवाद सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उहाले बताउनुभयो । श्रेष्ठले सरकार यथास्थितीवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसका बिरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनबिरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गर्नुभयो ।
त्यस्तै उहाले कम्युनिष्ट पार्टीहरुसँग एकता र धुब्रिकरण प्रक्रिया अघि बढाउदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
उहाले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । सडक, सदन र सरकारको मोर्चालाई संयोजन गरि शान्तिपूर्णबाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने उहाको भनाइ छ ।