युवा देशका संरचनात्मक र कार्यात्मक ढाँचा हुन्। हरेक देशको सफलताको आधार युवा पुस्ता र उनीहरूका उपलब्धिहरू हुन्। देशको भविष्य युवाहरूको सर्वाङ्गीण विकासमा निहित हुन्छ। त्यसैले युवाले देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। युवा शक्ति देश र समाजका आधार हुन्। युवाले देश र समाजलाई नयाँ शिखरमा लैजान्छन्। युवाहरू देशका वर्तमान हुन् भने भूत र भविष्यका पुल पनि हुन्। युवाहरू देश र समाजको जीवनमूल्यका प्रतीक हुन्। युवाहरू गहन ऊर्जा र उच्च महत्वाकांक्षाले भरिएका हुन्छन्। उनीहरू सदैव भविष्यप्रति चिन्तित रहन्छन्। समाजलाई सबैभन्दा राम्रो बनाउन र राष्ट्र निर्माणमा युवाहरूको नै सर्वाधिक योगदान रहने गर्दछ। युवाले देश र समाजलाई नयाँ उचाइमा पुर्याउँछन्। युवाहरूले राम्रो भविष्यका इमान्दार र विकासवादी सोचका प्रतिनिधि छनोटमा पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्।
युवा समाजका भावी नेता र राष्ट्रको सुनौलो भविष्य निर्माणकर्ता एवं समाजका आधारशिला हुन्। उन्नतिशील र प्रगतिशील समाजको एउटै औजार भनेको चरित्रवान र प्रतिभाशाली व्यक्तित्व भएका युवा हुन्। युवाले समाज र राष्ट्रप्रतिको दायित्व र कर्तव्यलाई पूर्णरूपमा बुझ्ने गर्दछन्। तिनीहरूको आँखामा सपना देख्ने प्रकाश र शक्ति दुवै हुन्छ। युवाहरू देशको भविष्य हुनुका साथै हाम्रो समाजको विकासको एक महत्वपूर्ण हिस्सा पनि हुन्। युवाशक्तिमा विगतका उपलब्धि, मान्यता तथा आस्था र विश्वास, वर्तमानका समस्याहरूलाई सुल्झाउन तिनलाई हेर्ने दृष्टिकोण र समाजका भावना, आकांक्षाहरूलाई सपना बुन्ने क्षमता हुन्छ। जुनसुकै देशमा युवाशक्तिले समाजको जीवनमूल्य, सभ्यता र सांस्कृतिक सम्पदाको प्रचारप्रसार र संवर्द्धन गर्छ भने युवा शक्तिले नै सुसंस्कृत समाजको निर्माण गर्छ।
त्यसकारण हरेक युवामा आदर्श व्यक्तित्व, नेतृत्वको गुण, जिम्मेवार नागरिकको कर्तव्य र स्वयंसेवी भावना, राष्ट्रप्रतिको माया, प्रेरणादायी विचारसहितको उच्च भावना, सांस्कृतिक आधार, स्वाभिमान, त्याग तथा आत्मगौरवको भावना हुनुपर्दछ। किनभने प्रगतिशील समाज निर्माणमा सबैभन्दा बढी योगदान युवाहरूको हुन्छ। युवा वर्ग समाजको भविष्य हुनुका साथै समाजको विकासका महत्वपूर्ण अङ्ग पनि हुन्, उनीहरू प्रगतिशील समाज र उन्नत समाजका अनिवार्य अक्ष हुन्।
कठिन परिस्थितिसँग जुध्ने क्षमता युवामा मात्रै हुन्छ, उल्टो प्रवाह र प्रतिगमनलाई उल्ट्याउन सक्ने साहस युवामा मात्रै हुन सक्छ, त्यसैले युवा शक्तिलाई सधैं सही दिशातर्फ उत्प्रेरित गर्नुपर्छ। राष्ट्रिय स्वाभिमान जोगाउन सधैं युवाहरूले कदम चालेका छन्। संकट सीमाना होस् वा सामाजिक र राजनीतिक – देशका युवाहरूले त्यसको समाधानका लागि सबै त्याग गर्नमा कुनै कसर बाँकी राखेका हुँदैनन्। त्यसकारण युवाहरूलाई समाज निर्माणको चाहना जागृत गराएर छरिएका शक्तिलाई जम्मा गरी समाजका विभिन्न समस्या समाधान गर्न प्रयोग गर्नुपर्दछ। युवाशक्तिले संगठनात्मक शक्ति बनेर समाजलाई समृद्धि, उन्नति र प्रगतिको बाटोमा लैजान सक्छ।
आफ्नो मूर्खता, जडता, संकीर्ण स्वार्थ र अहंकार त्यागेर समाज निर्माणको अभूतपूर्व सांस्कृतिक दिग्विजय अभियानमा सहभागी भई आफ्नो उज्ज्वल भविष्य साकार पार्ने प्रयासमा योगदान पुर्याउने युवा हृदयबाट धेरै कुरा अपेक्षा गर्न सकिन्छ। समाज र राष्ट्र निर्माणमा युवाको योगदान सबैभन्दा बढी हुन्छ। समाजलाई विकासको बाटोमा लैजान र चुनौतीहरूसँग लड्न युवाहरूको महत्वपूर्ण योगदान छ, त्यसैले युवाहरूले नराम्रो काम, कुकर्म, नराम्रो बानीमा आफ्नो समय र जीवन बर्बाद नगरी समाजप्रतिको आफ्नो कर्तव्य बुझेर पूरा गर्नुपर्छ।
युवाशक्तिको सक्रियतालाई समाजको विकासमा प्रयोग गर्ने हो भने यो शक्तिले अद्भुत काम गर्न सक्छ। आजसम्म युवाहरू चुनौतीको सामना गर्नबाट कहिल्यै पछि हटेका छैनन्। तर समाज परिवर्तनका लागि युवाहरूको उचित मार्गदर्शन हुनु जरुरी छ। समाजसेवाको काम सजिलो छैन। यो आफैमा ठूलो काम हो। यसलाई एकैसाथ पूरा गर्न सकिँदैन। यो महान कार्यमा युवाले आफ्नो योग्यता र क्षमता अनुसार सहभागी हुन सक्छन्। समाजमा सामाजिक, आर्थिक र नवप्रवर्तनमा युवाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
समाजमा व्याप्त कुप्रथा र अन्धविश्वासको अन्त्यका लागि उनीहरू सहयोगी साबित हुन सक्छन्। युवाहरू समाज विकासका सबैभन्दा महत्वपूर्ण शक्ति हुन्। युवाहरूले समाजमा आफ्नो सक्रिय योगदान दिनुपर्छ। समाज सुधारको काममा युवाहरूको संलग्नता अत्यन्त जरुरी छ। आजका युवाले सामाजिक परिवर्तन ल्याउन सकेनन् भने समाजले परिवर्तनको लागि अर्को पुस्तालाई पर्खिनुपर्ने हुन्छ।
युवाहरूमा काम गर्ने शक्ति भएकोले गर्दा उनीहरू जोशले भरपूर हुन्छन्। उनीहरू सफलतातिर अग्रसर हुने पूर्ण प्रयास गरिरहन्छन्। देश विकास अर्थात् देशमा सामाजिक, आर्थिक, प्राविधिक, स्वास्थ्य, शिक्षा, विज्ञान, अर्थव्यवस्था, आदि क्षेत्रमा सुचारू रूपमा विकास हुनको लागि युवाहरूमा राम्रो शिक्षा तथा उचित मार्गनिर्देशन हुनुपर्दछ। त्यसपछि मात्र देश र समाजको पूर्ण विकास हुन्छ।
देशको विकासमा युवाहरूले सक्रिय योगदान दिनुपर्छ। समाज सुधार र राष्ट्र निर्माणको काममा युवालाई संलग्न गराउनु अत्यन्त जरुरी हुन्छ र यसलाई जतिसक्दो चाँडो र व्यापक रूपमा गरिनुपर्छ। यसबाट एकातिर युवाहरू देशको सेवा गर्न सक्षम हुनेछन् भने अर्कोतिर उनीहरू स्वयंको उत्थान पनि हुनेछ। उनीहरूलाई उच्च स्तरको शिक्षा र चेतनाको विकास गराउनुपर्दछ। त्यसपछि उनीहरू विभिन्न क्षेत्रमा आफ्नो योगदान दिन सक्षम हुन्छन्।
देशको प्रगति विज्ञान, प्रविधि, स्वास्थ्य, शिक्षा, कृषि, आदि अन्य क्षेत्रको विकासमा निर्भर हुन्छ। यी सबै मापदण्डलाई पूरा गर्नको लागि सामाजिक, शैक्षिक र आर्थिक आधारमा युवाको सशक्तीकरण आवश्यक हुन्छ। युवाहरूलाई सकारात्मक दिशामा निर्देशित गरिनुपर्दछ। युवाहरूको विकास र प्रशिक्षणमा ध्यान दिनुपर्दछ। युवाहरू सही दिशामा समृद्ध हुनको लागि उनीहरूलाई उचित शिक्षा र कौशल विकासको आवश्यकता हुन्छ। यसप्रकार युवाले देशको भविष्यको आकार दिन सक्छन्।
युवा देशको भाग्यविधाता हुन्। उसमा नैसर्गिक रूपमा ती क्षमताहरू विद्यमान छन्, जुन कुनै पनि समाजको भवनरूपी जगलाई प्रबल बनाउनका लागि आवश्यक हुन्छ। युवा वर्ग बुद्धिको कौशलताको कारण प्रगतिपथमा अग्रसर भइरहन्छन्। युवाहरूमा काम गर्ने मनोवृत्ति, मनोदशा र मानसिकता तथा दृष्टि नवीन हुन्छ। नवीन दृष्टिको मुख्य लक्षण विज्ञानको अनुकरणको भाव हुन्छ।
यसको लागि युवाहरूलाई पर्याप्त अवसर दिएर उनीहरूको शक्ति र क्षमताको उपयोग गरिनुपर्दछ। युवाहरूलाई ज्ञान र कौशल दुवैमा निपुण गर्ने आवश्यकता हुन्छ, जसबाट देशको सर्वाङ्गीण विकास हुन सकोस्। युवाहरूलाई उनीहरूको कर्तव्य एवं दायित्वको महत्त्व बुझाउनुका साथै उनीहरूको वास्तविक शक्तिको पहिचान गराउनुपर्दछ। युवालाई भोलिको स्थितिको आकारको लागि पूर्ण अवसर प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्दछ र यसलाई देश निर्माणमा प्रयोग गर्नुपर्दछ।
युवालाई सही दिशामा प्रयोग गर्ने देशहरू बढी विकसित हुन्छन्। युवाको मनको ऊर्जा र चमकले राष्ट्रका लागि मशालको काम गर्छ। तर कुनै पनि देशमा युवाहरूलाई पछाडि पारियो भने ती देशहरू असफल हुन्छन्। विकसित देशहरूको पछाडि युवाहरूको तागत र लागतको महत्वपूर्ण भूमिका हुन्छ। त्यसकारण युवाहरूलाई देशको सम्पत्ति ठानेर उनीहरूका आवश्यकताहरू पूरा गर्नु, शिक्षा, रोजगारी, मनोरञ्जन जस्ता गतिविधिहरू प्रदान गर्नुपर्दछ।
यस्तो स्वस्थ र प्रतिस्पर्धात्मक वातावरणबाट मात्रै युवाले देशको समग्र विकासमा आफ्नो क्षमता लगाउन सक्छ। युवा सही दिशामा लागेनन् तथा राष्ट्रको भविष्यप्रति उदासीन भए भने राष्ट्रका लागि बोझ बन्छन्। युवाहरू जात, वर्ण, भाषा र लिङ्गका आधारमा हुने भेदभाव, गरिबी, बेरोजगारी, असमानता र मानिसद्वारा मानिसको शोषणमुक्त संसार चाहन्छन्। देशको विकासमा उनीहरूको ठूलो भूमिका हुन्छ तर सरकारको लापरवाहीका कारण आजको समाजमा उनीहरू धेरै नयाँ चुनौतीको सामना गरिरहेका छन्।
तिनीहरू पहिचान संकट, आत्मविश्वासको कमी, कम आत्मसम्मान, निराशा, नैतिक मुद्दाहरू र भविष्यको बारेमा अस्पष्टताको भावनाले ग्रस्त छन्। यी युवाहरूलाई आफ्नो प्रतिभा प्रयोग गर्ने अवसर नदिने हो भने यो मानव संसाधनको ठूलो बर्बादी हुनेछ। यसरी राष्ट्रको विकासमा युवाको ठूलो हिस्साले महत्वपूर्ण भूमिका खेल्छ। तर युवाको राय र विचारको स्वतन्त्रताको प्रयोग गर्नु जरुरी छ। उनीहरूले आफ्ना विचारहरू साझा गर्न र आफ्नो प्रतिभा प्रदर्शन गर्न सही प्लेटफर्म पनि पाउनु पर्छ।
देशको उन्नतिका लागि शिक्षा, रोजगारी र सशक्तीकरण आवश्यक हुन्छ। देशका युवाहरू शिक्षित हुँदा र उनीहरूको शिक्षाको सदुपयोग भएमा देश तीव्र गतिमा विकासित हुन्छ। युवाहरूलाई उचित शिक्षा प्रदान गर्न देशको सरकारले विशेष पहल गर्नुपर्छ। देशका बेरोजगार युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्नु पनि अति जरुरी हुन्छ। रोजगारीको अवसर नहुँदा सामाजिक अशान्ति निम्तिने सम्भावना प्रबल हुन्छ।
युवाहरूलाई आफ्नो जीवनको जिम्मा लिन सशक्त बनाउनु महत्वपूर्ण हुन्छ। युवालाई जीवनमा गलत बाटोमा नलागोस् भनेर क्षमताअनुसार रोजगारीको अवसर उपलब्ध गराउनु आवश्यक हुन्छ। सस्तो र गुणस्तरीय शिक्षा र तालिमको पहुँच नहुँदा समाजमा बेरोजगारी र न्यून रोजगारीको समस्या व्याप्त हुन्छ। युवाहरूलाई रचनात्मक क्षेत्रमा करियर बनाउन समुदायद्वारा समर्थन र प्रेरणाको अभाव हुन्छ। दीगो विकासका लागि युवालाई समान अवसर प्रदान गर्न आवश्यक हुन्छ।
यसरी देशको उन्नति र विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ। तसर्थ, युवा शक्तिलाई बुद्धिमानीपूर्वक र सम्भव भएसम्म सदुपयोग गर्न सकियो भने त्यसले अवश्य पनि देश र समाजको विकास गर्न सक्छ।
युवाहरूले देश तथा समाज विकासमा अनुसन्धानको क्षेत्रमा काम गरेर योगदान पुर्याउन सक्छन्। उनीहरूले नवीनतम अनुसन्धानद्वारा देश विकास गर्न सक्दछन्। युवाहरूले परिपक्व ज्ञानको प्राप्ति एवं विकासोन्मुख कार्यमा त्यसको प्रयोग गरेर महत्वपूर्ण योगदान दिन सक्छन्। युवाहरू आफैं सचेत भएर सजगताको वातावरण उत्पन्न गरी देश तथा समाज विकासमा योगदान दिन सक्छन्। नैतिकतामा आधारित गुणको विकास गरेर पनि युवाहरूले समाज विकासमा योगदान दिन सक्छन्।
त्यसैगरी राष्ट्र, परिवार र समाज, आदि क्षेत्रका अनेक उत्तरदायित्व वहन गर्दै कर्तव्यको निर्वाह गरेर पनि युवाहरूले योगदान दिन सक्छन्। अनुशासनको भावनाको पालना गरेर पनि देश र समाजमा युवाहरूले योगदान दिन सक्छन्। युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ। अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ। त्यसकारण युवालाई असीम ऊर्जाको केन्द्र र देशको गौरवको आधार पनि भन्ने गरिन्छ।
समाज विकास भनेको सामाजिक, आर्थिक, राजनीतिक, भौतिक, सांस्कृतिक र वातावरणीय अवस्थामा सकारात्मक रूपमा परिवर्तन हुनु हो र यो निरन्तर चलिरहने प्रक्रिया पनि हो। परिवर्तनका लागि समाजका सबै समुदायको सहभागिता हुन्छ तर परिवर्तनको इच्छा राख्ने र ऊर्जाशील युवावर्गको भने यसमा महत्वपूर्ण सहभागिता रहेको पाइन्छ।
विकास प्रक्रियामा युवाहरूको सहभागिता अनिवार्य हुन्छ। युवाहरू शारीरिक हिसाबले मात्र सबल नभएर उनीहरूमा सकारात्मक सोच, सृजनात्मक कार्यमा लाग्ने क्षमता र समाज बदल्ने आँट हुने भएकाले उनीहरूको सहभागिता अपरिहार्य हुन्छ। युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा सामाजिक, राजनीतिक, आर्थिक र प्राविधिक विकास सम्भव हुन्छ।
युवाहरू सामुदायिक अभियानमा संलग्न भएर समाजको विकासमा योगदान दिन सक्छन्। समाजमा सञ्चालन हुने सानातिना विकास-निर्माणका कामदेखि कार्यक्रम, नीतिनिर्माणका काममा सरकारलाई दबाव दिनेसम्म काम युवाहरूले गर्न सक्छन्। युवाहरूले समाजको विकासका क्रममा त्यहाँ व्याप्त कुरीति, कुसंस्कार, भेदभाव, आदि जस्ता खराब व्यवस्थालाई हटाउन नेतृत्वदायी भूमिका खेल्न सक्छन्।
देशको प्राविधिक विकासमा पनि युवाहरूको महत्वपूर्ण योगदान रहन्छ। युवाहरूको नेतृत्वमा आधुनिक प्रविधिलाई कृषि, यातायात, भौतिक निर्माण र उद्योग-कलकारखानाको क्षेत्रमा संलग्न गरी देशको समग्र आर्थिक विकासमा लगाउन सकिन्छ। यसरी युवाले देश र समाजको समग्र विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
यसको लागि राज्यले युवाहरूलाई आवश्यक वातावरण तयार गर्नुपर्दछ। यद्यपि यस्तो महत्वपूर्ण युवाशक्ति अहिले निरन्तर विदेश पलायन भइरहेको छ। बेरोजगारको शिकार भएको छ। अन्य देशमा गएर आफ्नो ऊर्जाशील समय र शक्ति खर्चिरहेका छन्। युवाहरू विश्वबजारमा गएका छन्। यसले ठूलो समस्या निम्त्याइरहेको देखिन्छ। युवाको सक्रिय सहभागितामा राजनीतिक, आर्थिक, शैक्षिक, प्राविधिक, स्वास्थ्य, भौतिक आदि क्षेत्रमा रूपान्तरण गर्न सकेमा समृद्ध र समतामूलक समाज अवश्य नै निर्माण हुनेछ।
यस कुरामा राज्यले महत्वपूर्ण रूपमा ध्यान दिनु जरुरी छ।
अन्त्यमा, युवाले अनेकौं ऐतिहासिक परिवर्तन गरेका छन्। युवाहरू आफ्नो तन, मन र समर्पणको भावले हरेक कार्य गर्दछन्। त्यसैले युवाहरूलाई विकासको पथमा प्रयोग गर्नु अति आवश्यक हुन्छ, जसबाट देशको विकास गर्न सकिन्छ र युवाहरूको प्रतिभाको पहिचान पनि गर्न सकिन्छ।
एक शिक्षित युवाले आफ्नो शिक्षाको क्रममा देशको विकासको बारेमा पनि अध्ययन गर्दछ र देशको विकासलाई नै आफ्नो लक्ष्य बनाउँदछ। तर शिक्षा पूरा गरेपछि देश सेवाको अवसर नहुनेबित्तिकै ऊ अन्यत्र भड्किन थाल्छ। त्यसकारण युवाहरूलाई देश विकासको वातावरण राज्यले तयार गरिदिनुपर्छ। उनीहरूलाई सहयोग गर्नुपर्दछ। युवाहरूलाई अवसर प्रदान गर्नुपर्दछ। उनीहरूको विकासको लागि महत्वपूर्ण कदम उठाउनुपर्दछ। उनीहरूलाई विशेष अवसर प्रदान गरी प्रतिभा तथा क्षमताको प्रयोग गरिनुपर्दछ।
लेखक : नारायण गिरी
निर्देशक : मिलन आफन्त