काठमाडौं – “सधैं सकारात्मक सोच, दृढ निश्चय र निरन्तर प्रयासले मात्र सफलताको ढोका खुल्छ”, यो भनाइ साकार बनाएका छन् लायन सुदामा कार्की क्षेत्रीले। २०३१ सालमा चितवनमा जन्मिएका कार्कीको बाल्यकाल अभाव र संघर्षमा बित्यो। किताब किन्ने पैसा थिएन, पेट भर्ने खाना थिएन, न त राम्रा लुगा थिए। तर, थियो त केवल संघर्ष गर्ने आँट र सपना।
सानो गाउँबाट यात्रा सुरु गरेका कार्की आज सफल व्यवसायी मात्र होइनन्, सामाजिक सेवामा पनि उदाहरणीय बनेका छन्। अभावमै हुर्किएका उनले आफ्नो बाल्यकालको दुःखलाई प्रेरणाको स्रोत बनाउँदै हजारौं दिनदुःखीको जीवनमा सहयोगको उज्यालो ल्याइरहेका छन्।
सामाजिक सेवामा अग्रपंक्तिमा
सन् २०१३ मा लायन्स क्लब स्वीट होम भक्तपुर बाट सेवा यात्रा सुरु गरेका सुदामा कार्कीले क्लब अध्यक्ष, जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया संयोजक हुँदै हाल डिष्ट्रिक्ट क्याबिनेट कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन्। उनले पारदर्शिता, बजेट व्यवस्थापन, रिपोर्टिङ र अनुगमन प्रणालीमा सुधार गर्दै लायन्स डिष्ट्रिक्ट ३२५ एच नेपालमा महत्वपूर्ण भूमिका खेलेका छन्।
पुरस्कृत सेवाकर्मी
उनले इन्टरनेशनल लिडरसिप अवार्ड, इन्टरनेशनल प्रेसिडेन्ट सर्टिफिकेट, मेल्भिन जोन्स फिलो अवार्ड, जोन चेयरपर्सन अवार्ड लगायतका विभिन्न सम्मान प्राप्त गरेका छन्। उनी टियु लायन्स ब्लड सेन्टरका संस्थापक सदस्य पनि हुन्।
व्यवसायिक सफलताको यात्रा
कार्कीको नेतृत्वमा अहिले अराउण्ड द हिमालय, ट्राभल्ट कर्पोरेशन नेपाल, स्वीट होम प्रालि, बौद्ध स्तुपा भ्यू गेस्ट हाउस, धम्पुस भिलेज इको लज, शिवपुरी अर्गानिक फार्म लगायतका दर्जनभन्दा बढी व्यवसायहरु सञ्चालनमा छन्। सानो व्यवसायबाट सुरु गरेका उनले आज देशमा रोजगारीको अवसर सिर्जना गर्दै देशको पर्यटन प्रवर्द्धनमा समेत योगदान दिइरहेका छन्।
शिक्षा र मानव सेवामा योगदान
कुण्डलिनी एजुकेशन फाउन्डेशन मार्फत ३५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ। गोर्कर्णेश्वरमा बोटल हाउस अनाथालयमा ४० बालबालिकालाई आश्रय र शिक्षा दिइएको छ भने गोरखामा २० बालबालिका समेटिएको होस्टेलसहितको सेवा पनि सञ्चालनमा छ।
कोरोना महामारीमा कोभिड हिरो
कोरोना महामारीका बेला उनी सिधै सेवामा खटिए। देशका विभिन्न भागमा राहत सामग्री, मेडिकल किट वितरण गरेर हजारौंलाई सहयोग गरे। यस योगदानका लागि उनलाई कोभिड हिरोको रुपमा सम्मान गरिएको थियो।
सेकेण्ड भाइस गर्भनरको उम्मेदवारी
सुदामा कार्की लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालका लागि आगामी कार्यकालमा सेकेण्ड भाइस गर्भनर पदमा उम्मेदवार छन्। उनको पारदर्शिता, समर्पण, सामूहिक नेतृत्व र दूरदृष्टिले डिष्ट्रिक्टलाई अझै प्रभावशाली बनाउन सक्ने विश्वास लायन्स सदस्यहरूमा छ।
कार्की भन्छन् – “डिष्ट्रिक्टलाई पारदर्शिता, समानता र सेवाको भावनासहित एउटा परिवारको रूपमा अगाडि बढाउने छु।”
कम बोल्ने, तर धेरै काम गर्ने स्वभावका उनी आजसम्म ४० भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने क्षमताका धनी कार्की नेपाली लायन्स सेवाको उज्यालो भविष्यका लागि प्रतिबद्ध छन्।