काठमाडौं – नेपाली लघुचलचित्र ‘पाउलो’ (The Shoes) चीनमा आयोजना हुने स्मलरीग अवार्ड (SmallRig Awards) मा नोमिनेशनमा पर्न सफल भएको छ। विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ वटा चलचित्रहरूमध्ये छनोट भएका ९८ चलचित्रहरूबाट अन्तिम २० मा पर्दै ‘पाउलो’ नोमिनेटेड भएको हो।
चीनको सेन्जेन सिटीमा यही मे २३ देखि २५ तारिखसम्म हुने स्मलरीग अवार्डमा चलचित्र ‘पाउलो’ को प्रदर्शन समेत गरिनेछ। यसअघि पनि यो चलचित्र भारतको सीएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल, अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको लाईट अफ द वर्ल्ड किनो फेस्टिभल, जिम्बावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भइसकेको छ। साथै, नेपालमा भएको छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनसिआइएफ) मा विशेष स्क्रिनिङ समेत गरिएको थियो।
जुत्तालाई मुख्य कथावस्तु बनाई तयार गरिएको यस लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका हुन्। कास्टिङ डाइरेक्टर रेनुका कार्की र प्रोडक्सन म्यानेजर चक्र प्रसाद पोख्रेल रहेका छन्। सहायक निर्देशक करन साउद हुन्।
‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो, जहाँ सुरुदेखि अन्त्यसम्म जुत्तालाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। मानवीय भावनालाई जुत्ताको माध्यमबाट देखाउने प्रयास गरिएको यो फिल्मले ‘जुत्ता सामाग्री मात्रै होइन, जीवनको अनुभूति पनि हो’ भन्ने सन्देश दिन खोजेको निर्देशकको भनाइ छ।
ब्ल्याक हर्स जुत्ता कम्पनीको प्रायोजनमा बनेको चलचित्र ऐना आर्ट्सको ब्यानरमा निर्माण भएको हो। यस चलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। उनले यसअघि निर्माण गरेका घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता लगायत लघुचलचित्रहरू पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा छनोट भई पुरस्कृत भइसकेका छन्।
निर्देशक अभिलाषी अहिले नयाँ चलचित्रको तयारीमा रहेको र यसको नाम चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।