काठमाडौँ – सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई चेतावनी दिएको छ।
निर्देशनालयका निर्देशक जनक प्रसाद शर्माले सोमबार एनआरएनएको सचिवालयलाई पत्राचार गर्दै तोकिएको मितिमै एकता महाधिवेशन गर्न निर्देशन दिएका छन्।
एनआरएनए उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ (३–५ मे, २०२५) मा काठमाडौँमा एकता महाधिवेशन गर्न तयारी तीव्र पारिरहँदा सर्वोच्चले त्यस्तो निर्देशन दिएको हो।
पत्रमा एनआरएनए सचिवालयले सर्वोच्चको आदेश अनुसार काम कारबाही भइरहेको बताए पनि उच्चस्तरीय समितिलाई सचिवालय हस्तान्तरण नगरेको विषयलाई गम्भीरताका साथ लिएको उल्लेख छ। पत्रमा अगाडि भनिएको छ, ‘गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको च. नं. २०८१–०८२–२६ मिति २०८१।१२।१९ को पत्र ब्यहोरा हेर्दा गैरआवासीय नेपाली संघको सचिवालय हस्तान्तरण गर्न सक्दैनौं भनी जवाफ फर्काएको भन्ने र च. नं. २७।०८१।८२ मिति २०८२।०१।०८ मा यस निर्देशनालयमा पेस गरिएको उच्चस्तरीय समितिको प्रगति विवरणमा मिति २०८१।०८।०४ देखि मिति २०८१।१२।३१ सम्म चौध पटक बैठक बसी उच्चस्तरीय समितिले सम्मानित सर्वोच्च अदालतले तोकिएको समयावधिभित्र कार्य सम्पन्न कार्ययोजना साथ अगाडि बढिरहेको र निर्धारित मिति भित्र कार्य सम्पन्न गर्न प्रतिबद्ध रहेको भनी मिति २०८२।०१।०८ मा श्री गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिको पत्रमा उल्लेख गरे बमोजिम नै गर्नु र सम्मानित सर्वोच्च अदालतको मिति २०८०।१२।२१ को आदेशअनुसार तोकिएको मितिमा नै महाधिवेशन गर्नु गराउनु’ भन्ने उल्लेख छ।
यसैगरी, फैसला कार्यान्वयन निर्देशनालयले तोकिएको मितिमै उच्चस्तरीय समितिबाट महाधिवेशन सम्पन्न गर्ने गराउने कार्यमा अनिवार्य रूपमा समन्वय, सहयोग गर्न तथा गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै, तोकिएको मितिभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने र कानुन बमोजिम समय थप्न कुनै निर्देशन दिन नमिल्ने पनि निर्देशनालयले स्पष्ट पारेको छ।
बद्री केसी पक्षले अहिले काठमाडौँमा राजनीतिक नेतृत्वसँग भेटघाट गरी महाधिवेशनमा बाधा अड्चन उत्पन्न गर्न खोजी रहेका बेला फैसला कार्यान्वयन निर्देशनालयको उक्त पत्र आएको हो। निर्देशनालयले यो सहित चौथो पटक पत्र पठाएर सचिवालय हस्तान्तरण गरी अधिवेशनमा सहभागी हुन केसी पक्षलाई निर्देशन दिएको हो।
“अदालतको आदेशको पालना गर्नु कुनै पनि सभ्य समाज र लोकतान्त्रिक पद्धतिको अनिवार्य सर्त हो। बद्री केसीजी र साथीहरूले अब थप ढिला नगरी उच्चस्तरीय समितिलाई सचिवालय हस्तान्तरण गर्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,” उच्चस्तरीय समितिकी सदस्य तथा प्रचारप्रसार उपसमितिकी संयोजक रबिना थापाले भनिन्। उनले उच्चस्तरीय समितिका सबै सदस्यहरूलाई समितिको बैठक बसेर निकास निकाल्न पनि आग्रह गरिन्।
परराष्ट्र मन्त्रालय वा सर्वोच्च अदालतले बद्री केसी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएका छैनन्, तर केसीले भने आफ्नो समूह नै वैधानिक भएको दाबी गर्दै सचिवालयलाई आफ्नो नियन्त्रणमा राखिरहेका छन्।
सर्वोच्चको परमादेश र पटक–पटकको निर्देशन समेत पालना नगर्दा अदालतको मानहानि हुने भएकाले अब संघको बालुवाटारस्थित सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्नु बाहेक अर्को विकल्प बद्री केसी पक्षसँग नरहेको कानुनविद्हरूले जनाएका छन्।