एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा : शेष घले नेतृत्वको उच्चस्तरीय समितिको स्पष्टोक्ति — OSNepal

एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा : शेष घले नेतृत्वको उच्चस्तरीय समितिको स्पष्टोक्ति

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौँ, वैशाख ८ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन आगामी मे ३ देखि ५ तारिखसम्म तोकिएको मितिमा नै हुने भएको छ।

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब कुनै पनि हालतमा मिति पर नसर्ने स्पष्ट पारेको हो। समितिका अध्यक्ष शेष घलेले महाधिवेशन सर्वोच्च अदालतको परमादेशअनुसार नै गराउन लागेको भन्दै, व्यक्तिगत स्वार्थ नभई संस्थालाई एकताबद्ध बनाउने उद्देश्यका साथ अघि बढिएको बताए।

अध्यक्ष घलेले बद्री केसी पक्षले सहयोग नगरेको भए पनि आफ्नो नेतृत्वको समितिले पारदर्शी ढंगले काम गरिरहेको दाबी गरे। उनले समितिका सबै सदस्यहरूलाई इमेलमार्फत जानकारी दिइँदै आएको पनि बताए।

एनसीसी र आइसिसी विवादबारे स्पष्टीकरण

एनसीसीको अधिवेशन नगरी आइसिसी महाधिवेशन किन भन्ने प्रश्नमा घलेले सर्वोच्च अदालतले एनसीसीबारे केही नबोलेको स्पष्ट गर्दै आइसिसीमा समस्या रहेकाले त्यही अनुसार काम अघि बढाइएको जनाए। “एनसीसीहरू स्वतन्त्र संस्था हुन्। हामीले उनीहरूसँग समन्वय गरिरहेका छौं,” उनले भने।

उनले महाधिवेशनका लागि सयौं डेलिगेट्सले फ्लाइट र होटल बुकिङ गरिसकेको जानकारी दिँदै अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नु अपराधसरह हुने बताए।

सदस्यता र डेलिगेट्स आवेदनमा उल्लेख्य सहभागिता

समितिकी सदस्य सचिव जानकी गुरुङले हालसम्म ६३ हजारभन्दा बढीले सदस्यता लिइसकेको जानकारी दिइन्। उनका अनुसार २० अप्रिलसम्म २,७२० जनाले डेलिगेट बन्न आवेदन दिएका छन्। कागजात परीक्षणपछि डेलिगेट्सको अन्तिम नामावली प्रकाशन गरिने उनले बताइन्।

गुरुङका अनुसार सर्वोच्चको निर्देशन कार्यान्वयनमा बाधा हुँदा पनि बद्री केसी समूहले सचिवालय र MIS प्रणालीमा पहुँच दिन अस्वीकार गरेको गुनासो गर्दै, अप्ठ्याराबीच काम अगाडि बढाइएको बताइन्।

अर्थ र तयारीमा पनि पूर्ण विश्वास

आर्थिक उपसमितिका संयोजक कुल आचार्यले करिब ५० लाख रुपैयाँ सहयोग संकलन भइसकेको र कर्पोरेट साझेदारीमार्फत प्रायोजकहरू जुटिरहेको बताए। एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले एनसीसीहरूसँग सहकार्य भइरहेको जनाए।

लोकतान्त्रिक अभ्यासका लागि कोशेढुंगा

प्रचारप्रसार समितिकी संयोजक रबिना थापाले एकता महाधिवेशन संस्थाको लोकतान्त्रिक अभ्यासका लागि कोशेढुंगा सावित हुने दाबी गरिन्। सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न सक्ने र डेलिगेट्स बनेकाले आइसिसीको जुनसुकै पदमा उम्मेदवारी दिन सक्ने प्रावधानले संस्थामा लोकतान्त्रिक अभ्यास अझ मजबुत हुने विश्वास व्यक्त गरिन्।

समितिले डेलिगेट बन्न चाहने पञ्जीकृत सदस्यहरूलाई अप्रिल २२ (नेपाल समय राति ११:५९ बजे) अगावै www.nrnahlc.com मा आवेदन दिन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर