जनकपुरधाम, वैशाख ८ – नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी जनकपुरधामको देवडिहामा सम्पन्न भएको छ।
कार्यक्रमको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको विशेष उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमनलाई लिएर गरिएको तयारी थियो।
गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गर्दै भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनका लागि औपचारिक निमन्त्रणा समेत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाले धर्म, अध्यात्म र राष्ट्रबोधका विषयमा गहन विचार राख्दै धार्मिक चेतना, सांस्कृतिक पुनर्जागरण र राष्ट्रप्रेमलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
विशेष अतिथिका रूपमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, सुभाष झा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष डा. राजीव झाले नेपाल–भारतबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्ध र खुला सीमाबाट हुने लाभबारे प्रकाश पार्दै खुला सीमालाई अझ प्रभावकारी र स्थायी बनाउँदै पूर्णरूपमा खुला राख्नुपर्ने आवश्यकता औंल्याए।
गोष्ठीले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको अन्तर्सम्बन्धलाई पुनः उजागर गर्दै नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।