समाजवादी गणतन्त्र नै विद्यमान संकटको समाधान : प्रवक्ता प्रकाण्ड सी — OSNepal

समाजवादी गणतन्त्र नै विद्यमान संकटको समाधान : प्रवक्ता प्रकाण्ड सी

LC (KTM) April 21, 2025 0

प्रकाण्ड सी, प्रवक्ता – नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुन लागेको प्रचारमा आएको छ। यथार्थता के हो?

राष्ट्रिय राजनीतिमा यो विषय नितान्त नयाँ त होइन, तर महत्वपूर्ण विषय भने पक्कै हो। हाम्रो पार्टीको नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले नेपाली राजनीति र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी राज्य व्यवस्था, वा नेपालको सन्दर्भमा दलाल पुँजीवादी राज्य व्यवस्थाले हरेक पाँच–पाँच वर्षमा अगाडि सार्ने संसदीय चुनावबारे नयाँ दृष्टिकोण र विचार अगाडि सारेको हो।

२१औं शताब्दीको श्रमिक वर्गीय क्रान्तिमा पुँजीपति वर्गले जनक्रान्तिको विरुद्ध खोल्ने सबै प्रकारका मोर्चाको सामना एवम् प्रतिवाद गर्ने दृष्टिकोण विकास नगर्ने हो र विचारको विकास नगर्ने हो भने क्रान्ति र विजय मृगमरीचिका हुने डरलाग्दो खतरा छ।

यसर्थ पार्टीले २०८४ सालमा आयोजना गरिने चुनावको पार्टीको तर्फबाट सामना गर्ने निर्णय लिएको हो। यो निर्णय आफैंमा नयाँ विचार, डरलाग्दो जोखिम र जुनसुकै रूप रङ्गका आधुनिक संशोधनवादी दलालहरूले जिब्रो काढ्ने नीति हो। साम्राज्यवादी दलाल पुँजीवादी र दलाल संशोधनवादीहरूले आफ्नो राजनीतिक स्वार्थअनुसार भ्रामक र षड्यन्त्रमूलक भाष्य खडा गर्ने मूर्खता गरिरहेका छन्।

भ्रम र षड्यन्त्रबाट पूर्ण रूपमा सचेत रहन कम्युनिस्ट क्रान्तिकारीहरू, इमान्दार वामपन्थीहरू, सच्चा गणतन्त्रवादीहरू, देशभक्तहरू र आम नेपाली जनतामा विशेष अपील गर्दछु। माथि उल्लेखित दृष्टिकोण र नीतिको आवश्यकतामा चुनावी मोर्चाको प्रयोजनको तयारी अन्तर्गत पार्टीले दर्ता प्रक्रिया सुरु गरेको यथार्थ हो।

देशको राजनीति दिनप्रतिदिन धमिलिंदै गएको छ, यही समयमा देश र जनताको एजेन्डा उठाउन छोडेर किन पार्टी दर्ता प्रक्रियामा जान थाल्नु भएको हो?

देशको अवस्था धमिलिंदै गएको मात्रै होइन, चौतर्फी सङ्कटग्रस्त बन्दै गएको छ। इतिहासलाई मात गर्ने गरी समस्या चुलिएको छ। सङ्कटको कारक तत्व संघीय लोकतान्त्रिक गणतन्त्रको जामा पहिर्याइएको दलाल संसदीय व्यवस्था, दलाल राज्य सञ्चालक र यसले पैदा गरेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, डरलाग्दो निराशा, पलायनता, सामाजिक विकृति र अराजकता हुन्।

देशको अस्तित्व नै खतरामा पार्ने कहालीलाग्दो अवस्थाबाट देश र नेपाली जनतालाई मुक्त पार्नु अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहना हो। यसैको परिपूर्तिका निम्ति दलाल संसदीय व्यवस्था र दलाल राज्य सञ्चालकहरूको अन्त्य प्राथमिक सर्त हो।

यसका निम्ति नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व एवम् कार्यकर्ताहरू अनवरत संघर्ष गरिरहेका छन्। अहिले साम्राज्यवादी रणनीति र प्रतिगामी सामन्ती तत्वहरूले मच्चाएको अराजकता र आतंकका विरुद्ध अग्रभागमा रहेर प्रतिवाद गर्ने पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी नै हो। जहाँसम्म पार्टी दर्ताको सवाल छ, यो पनि संघर्षकै मोर्चाको तयारीसँग अन्तरसम्बन्धित भएकोले पार्टी दर्ताको काममा पनि लागेका हौं।

कतै पार्टी दर्तासँगै तपाईंहरू पनि संसदीय राजनीतिमा होमिन खोज्नु भएको त होइन?

पार्टी दर्ता र संसदीय राजनीति एउटै भएको भाष्य खडा गर्न खोजिए पनि यी नितान्त फरक विषय हुन्। नेपाल कम्युनिस्ट पार्टी र नेपाली श्रमिक जनताको राजनीति भनेको दलाल संसदवादी नभएर नेपाली विशेषताको समाजवादी हो।

संसदीय राजनीति भनेको दलाल पुँजीपतिहरूको राजनीति हो जसले लाखौं नेपाली जनताको शोषण गर्दछ, राष्ट्रका विरुद्ध घात गर्छ। लुट र शोषणका खातिर भ्रष्टाचार, कमिशन, कालोबजारी, तस्करी, बेलगाम मूल्यवृद्धि, मानव तस्करी गर्दछ। सत्ता र कुर्सीका निम्ति साम्राज्यवादी शक्तिसँग देश तथा जनताका विरुद्ध सौदाबाजी गर्न पुग्दछ।

परिणामतः संसदीय राजनीति, संसदीय व्यवस्था र संसदीय नेताहरू देश र नेपाली जनताको जीवन बर्बाद पार्ने आपराधिक तत्वको रूपमा प्रमाणित भएका छन्।

दलाल संसदीय व्यवस्थालाई यथाशक्य विस्थापन र दलाल एवम् भ्रष्ट शासकहरूलाई राष्ट्रिय अपराधी करार गरी यथाशीघ्र कारबाही गर्नु नेपाली जनताको तत्कालिक माग र राष्ट्रिय आवश्यकता बनेको हो।

उपरोक्त विश्लेषित अवस्थामा देश र नेपाली जनतालाई सङ्कटको भुमरीबाट पार लगाउन नेपाली विशेषताको समाजवादी गणतन्त्रको स्थापना र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको राजनीतिक मार्गचित्र अगाडि सारेको नेपाल कम्युनिस्ट पार्टीलाई संसदवादी भएको भनी भ्रम फैलाउनु षड्यन्त्रकारी हर्कतको पराकाष्ठा हो। यसमा न्यूनतम सत्यता छैन।

महान नेपाली जनतालाई यस सवालमा निश्चिन्त रहन विशेष अपील गर्दछु।

तपाईंहरूले वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई मुक्त पार्न गठन गरेको समाजवादी मोर्चा पनि खासै उपलब्धिमूलक भएन भन्ने बहस चलिरहेको छ। के भन्नु हुन्छ?

पहिलो कुरा, समाजवादी मोर्चा नेपाली क्रान्तिकारी राजनीतिक आन्दोलनको वर्तमान स्थितिको उपज हो। यो साम्राज्यवाद र दलाल पुँजीवाद विरोधी राजनीतिक मोर्चा हो। साम्राज्यवादी हस्तक्षेपबाट खतरामा परेका राष्ट्रको स्वाधीनता र दलाल पुँजीवादको जनघातबाट आजित बनेका नेपाली श्रमिक जनताको राजनीतिक स्वाधीनताको निम्ति संघर्ष गर्ने मोर्चा हो।

राष्ट्रिय मुक्ति र नेपाली विशेषताको समाजवाद स्थापना गर्नु यसको मुख्य ध्येय हो। यसका निम्ति समाजवादी मोर्चा लागिपरेको छ।

हामीले समाजवादी मोर्चालाई पार्टीको रूपमा बुझ्ने र कम्युनिस्ट पार्टीलाई मोर्चाको रूपमा बुझ्ने गल्ती गर्नु हुँदैन। मोर्चालाई देश र जनताभन्दा आफ्नो र आफ्नो पार्टीको स्वार्थसिद्धिको साधन बनाउने सोचबाट पनि मुक्त हुनुपर्दछ।

सत्य कुरा के हो भने समाजवादी मोर्चा बनेर कार्यक्रम अगाडि सारेपछि नै देशका विद्यमान यावत समस्याको समाधान ‘नेपाली विशेषताको समाजवादी व्यवस्था’ स्थापना हो भन्ने एजेन्डा राष्ट्रिय राजनीतिमा स्थापित भएको छ।

देशको समस्या समाधान र नेपाली जनक्रान्तिका निम्ति यो निकै महत्वपूर्ण कुरा हो। राष्ट्रिय स्वाधीनता र जनअधिकारका निम्ति समाजवादी मोर्चा निरन्तर लागिपरेको छ।

देशमा गणतन्त्र स्थापना भएपछि देश र जनताको अवस्था झन्–झन् नाजुक बन्न पुग्यो भन्ने विश्लेषण भइरहेको छ। के यो साँचो हो?

दलाल पुँजीवादी वर्गलाई सत्तासीन बनाउन र त्यसको स्वार्थ सुनिश्चित गर्न प्रतिक्रान्तिकारी षड्यन्त्रमार्फत नेपाली जनताको टाउकोमाथि जबर्जस्ती थोपरिएको संसदीय लोकतान्त्रिक गणतन्त्र — यसको शासकहरूको नेपाली राजनीतिमा संविधान जारी भएको ७ वर्ष र लोकतन्त्रको विधिवत अभ्यास गर्न थालेको ५ वर्षभित्रै टाट उल्टिएको छ।

अहिले देश अभूतपूर्व महाविपत्तिको सामना गरिरहेको छ। यसको मुख्य कारण साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीपतिहरूको राष्ट्रघात एवम् जनघाती हर्कत हो भन्ने निष्कर्ष वस्तुतः र व्यवहारतः सही हो।

पछिल्लो समय राजावादीहरूको सक्रियता निकै बढेको छ। जसका कारण गणतन्त्रमा संकट पैदा भएको चर्चा चलिरहेको छ। यस विषयमा पार्टीको धारणा के छ?

महान दशवर्षे जनयुद्ध र जनआन्दोलनको बलमा २१ वर्ष पहिले, विधिवत रूपमा १८ वर्ष पहिले नेपाली जनताले सत्ताबाट हटाएका सामन्ती शासकहरू उपयुक्त समय पाउँदा पुनः सत्तामा फर्किने मूर्खता गरिरहेका छन्।

यो नयाँ वा अनौठो विषय होइन। मुख्य समस्या त दलाल पुँजीवाद र दलाल लोकतन्त्र हो, जसले राजावादी बाँदरलाई लिस्नो दियो। दलाल पुँजीवाद र सामन्ती प्रतिगामी हर्कतका विरुद्धको निर्णायक संघर्ष र समाजवादी गणतन्त्रको स्थापना नै विद्यमान समस्याको सही समाधान हो।

यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धि गुम्ने स्थितिमा पुगेको देखिन्छ। यस विषयमा पार्टीले कस्तो कदम चाल्छ?

शासकहरूको नालायकीपन र दलाल संसदीय व्यवस्थाको जनविरोधी चरित्रका कारण देश गम्भीर र जटिल मोडमा प्रवेश गरेको छ।

दलालहरूद्वारा गरिएको गणतन्त्रको उपहास नै नेपाली जनताको आक्रोशको उत्कर्ष र साम्राज्यवादीहरूको पछिल्लो षड्यन्त्र एवं हस्तक्षेपको आधार बन्न पुगेको छ। साम्राज्यवादीहरूले षड्यन्त्रको हतियार सामन्ती तत्व र सामन्तवादीहरूलाई बनाएका छन्।

सामन्ती तत्वहरूले २३८ वर्षसम्म नेपाली जनता र देशका विरुद्ध गरेका अपराधलाई ढाकछोप गर्दै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि गणतन्त्र र जारी जनक्रान्तिका विरुद्ध प्रश्न उठाउँदै बर्बरता र अराजकता मच्चाउने दुस्साहस गरिरहेका छन्।

यतिबेला गणतन्त्रको रक्षाको प्रश्न मुख्य बनेको छ। गणतन्त्रका मुख्य दुश्मन साम्राज्यवाद, दलाल पुँजीवाद र सामन्ती प्रतिगामी तत्वहरू बन्न पुगेका छन्। गणतन्त्रको रक्षा गर्नु भनेको उपरोक्त तीनवटा तत्वहरूका विरुद्धको संघर्ष र राष्ट्रिय विजयको सवाल हो।

जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षार्थ गणतन्त्रलाई समाजवादी गणतन्त्रमा विकास गरी दलाल पुँजीवाद र लोकतान्त्रिक गणतन्त्रले पैदा गरेका गम्भीर समस्याको समाधान जरुरी छ। नेपाली विशेषताको समाजवादी गणतन्त्रको राजनीतिक कार्यक्रमलाई राष्ट्रिय रूपमा अगाडि सारेर नेपाल कम्युनिस्ट पार्टीले राजनीति र संघर्षका क्षेत्रमा नेतृत्व प्रदान गर्नेछ।

वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई कसरी बचाउन सकिन्छ? यस विषयमा पार्टीले कस्तो कदम चाल्छ?

दलाल पुँजीवादी संसदीय व्यवस्था र दलाल सञ्चालकका कारण देश र जनताको जीवनमा पैदा भएका समस्याको वस्तुनिष्ठ समाधान जनताको राज्य व्यवस्था र देश एवं जनता प्रतिको इमानदार तथा समर्पित नेतृत्व हो।

त्यो भनेको नेपाली विशेषताको समाजवादी गणतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व हो। यसका निम्ति पार्टी पूर्ण तागतका साथ लागि परेको छ।

तपाईंले भने जस्तो समाजवादी गणतन्त्रको स्थापना सम्भव छ त? के संसदवादी दलहरू समाजवादी गणतन्त्रका लागि सहमत हुन सक्छन्?

देशलाई नेपाली विशेषताको समाजवादी गणतन्त्रमा लैजानु बाहेक विद्यमान समस्याको समाधान गर्ने अर्को तत्कालिक कार्यक्रम नै छैन। यो नै देशलाई संकटबाट मुक्त गर्ने राजनीतिक कार्यक्रम वा अस्त्र हो।

दलाल पुँजीवादी र सामन्ती प्रतिगामी तत्व बाहेक, देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरू समाजवादी गणतन्त्रमा जानैपर्छ।

तपाईंले भने जस्तो व्यवस्था र अवस्थाका लागि जनताले कहिलेसम्म पर्खनुपर्ने हो? के यो सम्भव छ?

देशमा विकसित घटनाक्रम, प्रतिगामी षड्यन्त्र र दलाल पुँजीवादले निम्त्याएको राष्ट्रिय संकटलाई एउटै ठाउँमा राखेर निष्कर्ष निकाल्दा, नेपाली विशेषताको समाजवादी व्यवस्था निकट भविष्यको विषय बन्दै गएको छ।

यो सम्भव मात्र होइन, अनिवार्य भइसकेको छ।

– राजेन्द्र चिमौरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर