राष्ट्रपति पौडेलद्वारा एनआरएनए विवाद समाधानमा ‘अग्रजहरुको भूमिका महत्वपूर्ण’ भन्ने जोड — OSNepal

राष्ट्रपति पौडेलद्वारा एनआरएनए विवाद समाधानमा ‘अग्रजहरुको भूमिका महत्वपूर्ण’ भन्ने जोड

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं, वैशाख ८ – राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवाद समाधानका लागि संघकै अग्रज नेताहरूले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।

एनआरएनए अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्वभर फैलिएको नेपाली डायस्पोराको उत्कृष्ट संस्था भएकाले व्यक्तिगत असन्तुष्टि वा साना समूहगत मतभेदका कारण संस्था नै अप्ठ्यारोमा नपरोस् भन्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “तपाईंहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ।”

भेटका क्रममा अध्यक्ष डा. बद्री केसीले शेष घले समूहले आगामी मे महिनामा “एकता महाधिवेशन”को नाममा विधानविपरित गतिविधि गर्न खोजेको जानकारी गराउँदै त्यसले संगठनमा झनै अस्थिरता निम्त्याउने खतरा रहेको बताए। उनले “राष्ट्रिय समन्वय परिषद (एनसीसी)” संघको मूल खम्बा भए पनि त्यसलाई बेवास्ता गर्दै एकल निर्णयमार्फत अधिवेशन गर्ने प्रयास भइरहेको बताए।

जवाफमा राष्ट्रपति पौडेलले सबै गतिविधि विधिसम्मत ढंगले हुनुपर्ने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले यसमा मार्गप्रशस्त गर्नुपर्ने बताए। “तर जे जसो भने पनि, पहिले त तपाईंहरू नै मिल्नुपर्छ। संवादमार्फत एउटै मिलनविन्दु खोज्नैपर्छ,” उहाँले सुझाव दिनुभयो।

यस्तै, डा. केसीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको अन्योलबारे पनि राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। उनले भने, “सरकारले दिएको नागरिकता सरकारले नै चिन्दैन। हामीले कुनै पनि अधिकार उपयोग गर्न सकेका छैनौँ।”

राष्ट्रपति पौडेलले संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण ढिलो भएको हुन सक्ने बताउँदै संचार ग्यापका कारण समस्या उत्पन्न भएको हुनसक्ने धारणा व्यक्त गर्नुभयो।

उक्त भेटमा एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, संस्थापक संयोजक भीम उदास, सल्लाहकार अतुल कोइराला, डा. मीन रानाभाट (यूके), सिइओ राजेन्द्र कुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर