“उपसचिव हूँ” भन्दै ठगी गर्ने महिला त्रिपुरेश्वरबाट पक्राउ — OSNepal

“उपसचिव हूँ” भन्दै ठगी गर्ने महिला त्रिपुरेश्वरबाट पक्राउ

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं, वैशाख ८ – नेपाल सरकारको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिला काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जानकी न्यौपाने नामकी ४० वर्षीया महिलालाई पक्राउ गरेको हो। उनले आफू कानुन मन्त्रालयको उपसचिव रहेको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु भन्दै विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठेक्का दिलाउने र अनुदान उपलब्ध गराउने नाममा ठूलो रकम ठगी गरेकी थिइन्।

न्यौपानेले एक व्यक्तिसँग राजस्व तथा धरौटी रकमको नाममा सात लाख साठ्ठी हजार आठ सय रुपैयाँ (रु ७,६०,८००) लिएको र अन्य दुई व्यक्तिसँग समेत ठेक्का तथा अनुदान दिलाइदिने प्रलोभनमा रकम लिइसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। उनी थप रकम माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेकी जानकी न्यौपाने दैलेख जिल्लाको दुनेचौर गाउँपालिका वडा नम्बर ५ की स्थायी बासिन्दा हुन् भने हाल ललितपुर महानगरपालिका–२५ मा बसोबास गर्दै आइरहेकी थिइन्। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर