आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन — OSNepal

आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन

LC (KTM) April 21, 2025 0

दमक (झापा), ८ वैशाख : आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन गरिने भएको छ । अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शय्यासहित डाइलेसिस सेवा विस्तार गर्न लागिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षार गर्नुभएको छ । सम्झौताअनुसार आगामी दुई महिनामा डायलेसिस सेवा सुरु गरिनेछ ।

आम्दामा डाइलेसिससेवा नहुँदा यस क्षेत्रका सेवाग्राही दमक बाहिर सेवा लिन जान बाध्य थिए । दमकको आम्दा अस्पतालमा डायलेसिस सेवा सञ्चालनमा आएपछि पूर्वी मोरङ, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा नविन ढकालले बताउनुभयो । ओमसाई पाथीभरा अस्पतालले लामो समयदेखि डायलेसिस सेवा उपलव्ध गराउँदै आएको छ ।

त्यस अवसरमा आम्दा अस्पतालका पूर्व मेसु डा प्रकाश शर्मा, डा नविन ढकाल, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागार्इंलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर