“बाउ ठीक छैन, पार्टी ठीक छैन” — साम्पाङको प्रचण्ड परिवारप्रति कटाक्ष — OSNepal

“बाउ ठीक छैन, पार्टी ठीक छैन” — साम्पाङको प्रचण्ड परिवारप्रति कटाक्ष

Kesh Karki (USA) April 21, 2025 0

धरान, वैशाख ८: धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सार्वजनिक रुपमा पुनः एकपटक कडा राजनीतिक टिप्पणी गरेका छन्। भरतपुर मेयर रेनु दाहालको भनाइप्रति प्रतिक्रिया दिँदै मेयर साम्पाङले उनीमाथि र उनको पार्टीमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

“रेनुजी, तपाईंले मलाई ठूलो योजना गर्नुपर्थ्यो भन्नुभएको रहेछ,” साम्पाङले भने, “तर तपाईंका बुबा प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन मैले मागेको रकममा २० लाख मात्रै छुट्याइयो। अब मैले के गर्ने?”

साम्पाङले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार र सत्ता गठबन्धनले आफूमाथि विभेद गरेको उल्लेख गर्दै भने, “बाउ ठीक छैन, पार्टी ठीक छैन। तपाईंहरूको मन्त्री सुदन किराँती थिए, तपाईंका बुबा प्रधानमन्त्री, अनि एयरपोर्ट माग्दा ‘बिराटनगरमा छ, धरानमा किन चाहियो’ भनेर अस्वीकार गरियो।”

उहाँले वर्तमान राजनीतिक दलप्रति पनि असन्तुष्टि जनाउँदै भने, “आजका कुनै पनि पार्टी ठीक छैनन्, विभेद गर्छन्। तपाईंका बुबाले प्रधानमन्त्री हुँदा सबै बजेट तपाईंको पालिकामा खनाइदिनुभयो।”

साम्पाङले आफू जनताको साथमा रहेको र देश निर्माणको असली भिजन आफूले प्रस्तुत गर्ने बताए। “म अब २०८४ मा स्वयं आएर त्यो ठाउँमा काम गर्नुपर्ला,” उनले भने। “बालेनजीको कुरा नगर्नुहोस्, २६ अर्ब माथिको बजेट लिएर पनि २० प्रतिशत खर्च गर्न सक्दैन काठमाडौं महानगर। पैसा नभए पनि विकास गर्न सकिन्छ भन्ने सिक्न म कहाँ आउनुहोस्।”

उनले आफ्नो भिजन स्पष्ट पार्दै भने, “विदेशी ऋण बोकेर ठूलो गाडी हाँक्नु हुन्न। स्वदेशी उत्पादनमा जोड दिनु पर्छ। श्रमिक अपमान गर्ने पार्टीहरू अब सामन्त र दलालको पार्टी बनिसके।”

धरानका मेयर हर्क साम्पाङको यो अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ, जसले देशका ठूला राजनीतिक दलप्रति जनस्तरमा चासो र बहस थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर