जुम्लाको समृद्धिका लागि संघीय सरकार पूर्ण प्रतिबद्ध : खानेपानी मन्त्री प्रदीप यादव — OSNepal

जुम्लाको समृद्धिका लागि संघीय सरकार पूर्ण प्रतिबद्ध : खानेपानी मन्त्री प्रदीप यादव

Kesh Karki (USA) April 21, 2025 0

जुम्ला, ८ वैशाख । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका दीर्घकालीन, दिगो र प्रभावकारी समस्याहरू समाधान गर्न संघीय सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा आयोजित संयुक्त बृहत वास सम्मेलन तथा देवारगाउँ तल्लो बस्ती पूर्ण सरसफाइ उन्मुख घोषणा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक जिल्ला जुम्लालाई विकासमा पछाडि पार्न नदिने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो मेरो पहिलो पटकको जुम्ला भ्रमण हो । जुम्ला हिमाली जिल्ला भए पनि इतिहासमा यसको योगदान महत्वपूर्ण छ । विकासको हकमा संघीय सरकार यहाँका जनताको साथमा छ ।”

मन्त्री यादवले जुम्लाका नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै एक अर्ब २५ करोडको लागतमा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजना एक वर्षभित्र सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो । “जग्गा समस्या भएकाले निर्माणमा ढिलाइ भएको हो । बजेटको कुनै अभाव छैन,” उहाँले बताउनुभयो ।

साथै, मन्त्री यादवले जुम्लाको विकासका लागि सडक सुधार अत्यावश्यक भएकाले यसबारे प्रधानमन्त्रीसँग छलफल गरेर पहल गर्ने आश्वासन दिनुभयो । “सडक कालोपत्रका लागि प्रधानमन्त्रीज्यूसँग सल्लाह गरेर समाधानको बाटो निकाल्नेछु,” उहाँले भन्नुभयो ।

जुम्ली स्याउको गुणस्तर, स्वाद र अर्गानिक विशेषताबारे जोड दिँदै मन्त्री यादवले अब जुम्लाको स्याउ स्वदेशमा मात्र सीमित नरही विदेश निर्यात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमाली माटोको सुगन्ध र संस्कृतिको उज्यालो बोकेको स्याउलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन जरुरी छ,” उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय सरकार र स्थानीय तहबीच समन्वयमार्फत जुम्लाको समृद्धिको नयाँ युग सुरु गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्य र सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताललगायतले पनि जुम्लाको समग्र विकासका लागि सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्राचार्य, विभागीय महानिर्देशक रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर