साहित्य र इतिहासमा आधारित चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा — OSNepal

साहित्य र इतिहासमा आधारित चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं । नेपाली सिनेमामा फरक स्वाद र गहिरो विषयवस्तु प्रस्तुत गर्ने अपेक्षासहित चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्देशक फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको यो चलचित्र नेपाली समाजमा सन् १८०० को दशकमा घटेका यथार्थ घटनामा आधारित रहेको छ । चलचित्रको निर्माणपक्षले ‘जार’ नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्‍याउने दृढ विश्वास व्यक्त गरेको छ ।

निर्देशक लामाका अनुसार चलचित्रको विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्ष अत्यन्त बलियो छन् । “यो चलचित्र समाजमा घटेका गहिरा यथार्थलाई उजागर गर्छ, त्यसैले म यसलाई हरेक समाजको कथा भन्न रुचाउँछु,” लामा भन्छन्, “प्राविधिक पक्षलाई मजबुत बनाउने उद्देश्यले केही पोस्ट-प्रोडक्सनका कामहरू भारतमा गरिएको छ ।”

फेरि टेल पिक्चर्सको निर्माणमा बनेको चलचित्र ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । निर्देशक लामाका अनुसार, कथालाई सिनेम्याटिक लिबर्टीसहित प्रस्तुत गरिएको छ र चलचित्र नेपाली समाजको दस्तावेजका रूपमा समेत प्रस्तुत हुनेछ ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापालगायतको प्रमुख भूमिका रहेको छ । सिनेमाको छायांकन सिक्किममा गरिएको हो ।

सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन तथा झुमा लिम्बु र गंगा थापाको संगीत रहेको चलचित्रलाई होप रिल्स, एलए सेभेन स्टार्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो ।

नेपालमा चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ । ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर