बोस्टन, अमेरिका – नेपाली संगीत प्रेमीहरूका लागि एउटा सुखद खबर आएको छ। नेपाल र नेपालीहरूले अत्यधिक रुचाएको चर्चित लोक रक ब्यान्ड ‘नेपथ्य’ ले आगामी जुन ११ तारिख, बुधवार अमेरिकाको बोस्टनमा ‘नेपथ्य लाइभ इन बोस्टन’ शीर्षकमा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
यो कन्सर्ट डिजे मुकुन्द ईण्टरटेनमेन्ट को प्रस्तुति रहनेछ, जसले विगत लामो समयदेखि अमेरिकामा विभिन्न सांगीतिक कार्यक्रम तथा मनोरञ्जनात्मक इभेन्टहरू आयोजना गर्दै आएको छ। आयोजक मुकुन्द पोखरेलका अनुसार बोस्टनको रोयाले बोस्टन मा आयोजना हुने कन्सर्टका लागि तयारीहरू तीव्र गतिमा भइरहेको छ।
नेपथ्यको अमेरिका टुर
‘नेपथ्य लाइभ इन बोस्टन’ मात्र होइन, यो टुर अन्तर्गत नेपथ्यले अमेरिकाका सात वटा राज्यहरूमा आफ्नो प्रस्तुति दिनेछ। यस कार्यक्रमलाई नेपाली संगीतप्रेमीहरूबीच अत्यधिक प्रतीक्षा गरिएको बताइएको छ।
लोकप्रिय गीतहरू प्रस्तुत हुने
नेपथ्यले कन्सर्टमा ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘मै मरि जाउँला’, ‘आँगनैभरि हिउँ नै झरे’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरति’, ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘जोमसोम बजारमा’, ‘उडायो रेलैले’ जस्ता दर्जनौं कालजयी गीतहरू प्रस्तुत गर्ने तयारी गरेको छ।
अग्रिम टिकट खुला
कन्सर्टको अग्रिम टिकट बिक्री खुला भइसकेको आयोजकले जानकारी गराएका छन्। टिकट खरीद तथा कन्सर्टसम्बन्धी थप जानकारी डिजे मुकुन्द ईण्टरटेनमेन्टको आधिकारिक प्लेटफर्मबाट प्राप्त गर्न सकिनेछ।
नेपथ्यको सन्देश
नेपथ्य ब्यान्डले विगत तीन दशकदेखि नेपाली लोक संगीत र समसामयिक सामाजिक सन्देशलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै जनचेतनाको स्वर बोकेको ब्यान्डको रूपमा पहिचान बनाएको छ। अमेरिकास्थित नेपाली समुदायका लागि यो कार्यक्रम केवल मनोरञ्जन नभई संगीत र पहिचानसँग जोडिएको गर्वको विषय बन्ने निश्चित देखिन्छ।